बिहीबार ०२ असोज, २०८२

नेपाली समय

प्रधानमन्त्रीले बिर्सिएको राष्ट्रिय बाल दिवस

प्रधानमन्त्रीले बिर्सिएको राष्ट्रिय बाल दिवस

राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा यस वर्ष कुनै औपचारिक कार्यक्रम आयोजना नभएको मात्र होइन, नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले समेत बालबालिकाप्रति शुभकामना वा प्रतिवद्धता व्यक्त नगरेको विषय चासोका साथ हेरिएको छ । 

भदौ २३ र २४ गतेको जेनजि आन्दोलनपश्चात् भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो। पदभार ग्रहण गरेपछि कार्कीले सिंहदरबारस्थित गृह मन्त्रालयको लागि तयार गरिएको अस्थायी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काम सुरुवात गर्नुभएको छ ।

जेनजि (१३ देखि २८ वर्ष उमेर समूह) आन्दोलनको जनादेशअनुसार नियुक्त भएकी प्रधानमन्त्री कार्कीले आजको राष्ट्रिय बाल दिवस भने बिर्सिएको पाईएको छ।

संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित भएको हो। नेपालले यसलाई १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो। सोही सम्झनामा २०६२र६३ को जनआन्दोलनपछि नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आएको छ। विगतमा सरकारका तर्फबाट बाल अधिकार परिषद् मार्फत औपचारिक कार्यक्रम, राष्ट्रिय बाल भेला तथा राष्ट्रपति र प्रधानमन्त्रीको विशेष सन्देशमार्फत दिवस मनाउने परम्परा रहँदै आएको थियो।

तर यस वर्ष जेन(जि आन्दोलनका कारण सिर्जित विषम परिस्थितिका कारण सरकारले कुनै कार्यक्रम आयोजना गरेन भने नागरिक समाजले पनि औपचारिक कार्यक्रम गर्न सकेनन्। यसैबीच, नयाँ प्रधानमन्त्री कार्कीले पनि कुनै माध्यमबाट बालबालिकाप्रति शुभकामना वा प्रतिवद्धता व्यक्त नगरेको विषय बाल अधिकारकर्मीहरूले प्रश्न उठाएका छन्।

जेनजि आन्दोलनका क्रममा थुप्रै बालबालिका घाइते भएका छन् भने कम्तीमा चारजना १८ वर्षमुनिका बालबालिकाले ज्यान गुमाएका छन्। यिनै आन्दोलनको जनादेशअनुसार प्रधानमन्त्री बनेकी कार्कीले बाल दिवसलाई बेवास्ता गरेको आरोपसमेत सरोकारवालाहरूले लगाएका छन् ।