बिहीबार ०२ असोज, २०८२

नेपाली समय

राष्ट्रिय बाल दिवसमा ‘बाल आवाज’ डिजिटल पत्रिकाको औपचारिक शुभारम्भ

राष्ट्रिय बाल दिवसमा ‘बाल आवाज’ डिजिटल पत्रिकाको औपचारिक शुभारम्भ
सुन्नुहोस्

राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा नेपालकै पहिलो बालमैत्री डिजिटल पत्रिका ‘बाल आवाज’ आज औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

लामो समयदेखि परीक्षणकालमा सञ्चालनमा रहेको पत्रिकालाई आजदेखि नियमित प्रकाशन गर्ने घोषणा गरिएको हो। बाल आवाजले सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, बालअधिकारकर्मी र सरोकारवालालाई राष्ट्रिय बाल दिवसको शुभकामना व्यक्त गर्दै बाल अधिकार प्रवर्द्धनमा सामूहिक सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।

 ‘बाल आवाज’ ले बालबालिकाको प्रतिभा उजागर गर्ने, विश्वसनीय जानकारी उपलब्ध गराउने र ज्ञान, सूचना तथा मनोरञ्जनको साझा पोर्टलको रूपमा स्थापित हुने लक्ष्य लिएको छ। पत्रिकामा समाचार, बाल प्रतिभा, पुस्तकालय, जन्मदिन विशेष, कार्यक्रम, ज्ञान–विज्ञान, खेलकुद र मनोरञ्जनजस्ता विविध सामग्री समावेश हुनेछन्।

बाल अधिकारसम्बन्धी महासन्धि १९८९ र नेपालको संविधान २०७२ ले बालबालिकाको सम्पूर्ण विकास, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिता सुनिश्चित गरेको भए पनि व्यवहारमा अझै बालश्रम, बालविवाह, हिंसा, शोषण र शिक्षा–स्वास्थ्यमा असमान पहुँचजस्ता समस्या कायम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘बाल आवाज’ का प्रबन्ध निर्देशक खिमानन्द देवकोटाले बाल अधिकार सुनिश्चित गर्न सबै सरोकारवालाले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “बालबालिका हाम्रो भविष्य मात्र होइनन्, उनीहरू हाम्रो वर्तमानका शक्ति, सम्भावना र परिवर्तनका आधार हुन्।”

बाल आवाज लाई थप प्रभावकारी बनाउन यहाँहरुको महत्वपुर्ण सुझावको अपेक्षा गरिएको छ ।