आइतबार १६ कात्तिक, २०८२

नेपाली समय

काठमाडौं महानगरको छात्रवृत्ति परीक्षा शनिबार, १६ हजार बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं महानगरको छात्रवृत्ति परीक्षा शनिबार, १६ हजार बढी विद्यार्थी सहभागी हुँदै
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा शनिबार सञ्चालन गर्ने भएको छ। बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षा देशभरिका विद्यार्थीहरूका लागि आयोजना गरिएको हो।

महानगरपालिकाले आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई लक्षित गरी तीन वर्षदेखि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही कार्यक्रम अन्तर्गत यस वर्ष देशका ७७ वटै जिल्लाबाट १७ हजार २ सय २९ विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये छनोट प्रक्रियापछि १६ हजार १ सय ३७ विद्यार्थीलाई प्रवेश परीक्षा दिन अनुमति दिइएको छ।

छनोट गरिएका विद्यार्थीहरूमध्ये सबैभन्दा धेरै विज्ञान संकायतर्फ ११ हजार ५ सय ९० जना छन् भने व्यवस्थापन संकायमा ४ हजार १ सय ६४ जना परेका छन्। त्यसैगरी, मानविकीमा ३२, शिक्षा संकायमा ९५ र कानुनमा २ सय ५६ जना विद्यार्थी परीक्षार्थी छन्।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ। प्रश्नपत्रमा गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०–३० अंक तथा सामान्य ज्ञानबाट १० अंक गरी कुल १ सय अंकको बहुवैकल्पिक प्रश्न रहने महानगरले जनाएको छ। परीक्षामा कम्तीमा ४० प्रतिशत अंक ल्याउनुपर्नेछ भने गलत उत्तरका लागि कुनै नकारात्मक अंकन गरिने छैन।

छात्रवृत्तिका लागि परीक्षा दिँदै गरेका विद्यार्थीहरूले साउन १ गतेदेखि यहाँ बाट प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्।

परीक्षा व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन काठमाडौं महानगरपालिकाले परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण समेत गराएको छ। शिक्षा विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभागका निमित्त प्रमुख केशव ज्ञवाली र शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले परीक्षा सञ्चालनका प्रक्रिया, सुरक्षा व्यवस्था, प्रश्नपत्रको गोप्यता, उत्तरपुस्तिकाको व्यवस्थापन र अनुशासनका विषयमा अभिमुखीकरण गर्नुभएको छ । 

अभिमुखीकरण कार्यक्रममा सहरी योजना आयोगका सदस्य, सहायक विज्ञ, शिक्षा विभागका कर्मचारी तथा केन्द्राध्यक्षहरूको उपस्थिति रहेको थियो। केन्द्राध्यक्षहरूले परीक्षा सुरु हुनु एक घण्टा अगावै उपस्थित भई सिट योजना, प्रश्नपत्र तथा उत्तरपुस्तिकाको सुरक्षा, विद्यार्थी परिचय प्रमाणीकरण र अनुशासन कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, प्रश्नपत्रको गोप्यता कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ भने कुनै पनि अनियमितता भए तत्काल प्रतिवेदन दिन भनिएको छ।