इँटाभट्टाको खलामा श्रम गर्दै एसईईमा ४.० जीपीए हासिल गरेकी गोमा श्रेष्ठको सपना पुरा हुने भएको छ। गोमालाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
बिहीबार गोमालाई काठमाडौंको भाटभटेनीस्थित कार्यालयमा बोलाई गुरुङ दम्पतीले एक लाख रुपैयाँ नगद, एक थान ल्यापटप र सम्मानपत्र प्रदान गर्दै उच्च शिक्षाको मार्ग प्रशस्त गरिदिनु भएको हो ।
गुरुङ दम्पतीले गोमालाई कक्षा ११ र १२ का लागि सेन्ट जेभियर्स कलेज, माइतीघरमा अध्यायन गराउने तथा त्यसपछि एमबीबीएससम्मको सम्पूर्ण शैक्षिक खर्च आफूहरूले नै बेहोर्ने स्पष्ट वचन दिएनु भएको हो । यसअघि पनि मीनबहादुर गुरुङले देशका विभिन्न दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत एमबीबीएस अध्ययनको अवसर प्रदान गरिरहनु भएको छ ।
चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बिहान–बेलुका इँटा सुकाउने काम गर्दै आएकी गोमाले विद्यालय पढाइलाई निरन्तरता दिँदै एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएको हो । डाक्टर बन्ने ठूलो सपना बोकेकी गोमा आर्थिक अभावका कारण अन्योल बनाएको थियो तर, उनको संघर्ष र समर्पणले मीनबहादुर गुरुङ दम्पतीको ध्यान खिच्यो र उहाँहरूले गोमालाई सहायताको हात बढाउनु भएको हो ।