जुम्ला जिल्लाका दुई स्थानीय तह — कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता प्राप्त भएको औपचारिक घोषणा गरिएको छ। जिल्लाका आठवटा स्थानीय तहहरूमध्ये यो उपलब्धि हासिल गर्ने यी दुई पहिलो पालिका हुन्।
कनकासुन्दरी गाउँपालिका भित्रका सबै आठ वडामा १५ महिना मुनिका २०३ बालबालिकाले नियमित खोप सेवा प्राप्त गरिरहेका छन् भने १६ देखि ५९ महिनासम्मका ५८८ बालबालिकाले सम्पूर्ण खोप प्राप्त गरिसकेका छन्। चालु आर्थिक वर्षभित्र सबै लक्षित बालबालिकाले खोप सेवा पाइसकेकाले गाउँपालिकालाई ूपूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिकाू घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जंगलाल बुढाले जानकारी दिनुभयो। उहाँका अनुसार, खोप सेवाको निरन्तरता र दिगोपनालाई कायम राख्ने प्रतिबद्धतासमेत गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले स्वास्थ्य क्षेत्रलाई पालिकाले पहिलो प्राथमिकता दिएको बताउँदै यस्तो उपलब्धिमा सबैको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
पातारासी गाउँपालिकामा ५२७ जना पाँच वर्ष मुनिका बालबालिका छन्। तीमध्ये १५ महिनासम्मका २१९ र १६–५९ महिनाका ३०८ बालबालिकाले सम्पूर्ण खोप प्राप्त गरिसकेका छन्। खोप तालिका अनुसार सबै आवश्यक खोपहरू प्राप्त भएपछि पातारासी गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो। स्वास्थ्य शाखा प्रमुख रतन बुढाथापाले यस उपलब्धिका लागि समुदायको सक्रिय सहयोग सराहनीय रहेको बताउनुभयो।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर सोमकाअनुसार दुवै पालिकाले खोप निर्देशिकाअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेका हुन्। बाँकी स्थानीय तहहरू पनि पूर्ण खोप सुनिश्चितताको दिशामा अग्रसर रहेको उहाँले जानकारी दिनुभयो।
पूर्ण खोप सुनिश्चितता प्राप्त गर्न बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस बी, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइड लगायतका १३ प्रकारका खोपको सबै मात्रा समयमै प्राप्त गर्नु पर्ने मापदण्ड रहेको छ।