शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

किशोर किशोरीको सुरक्षाका लागि टिकटकले नेपालमा ‘फ्यामिली पेयरिङ’ सेवा सुरु

किशोर किशोरीको सुरक्षाका लागि टिकटकले नेपालमा ‘फ्यामिली पेयरिङ’ सेवा सुरु

सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा किशोर किशोरीको डिजिटल सुरक्षालाई ध्यानमा राख्दै ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । यस सुविधामार्फत अभिभावकहरूले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर उनीहरूको अनलाइन गतिविधिमा निगरानी र नियन्त्रण राख्न सक्नेछन् ।

टिकटकका अनुसार, फ्यामिली पेयरिङ सेवाको उद्देश्य सुरक्षित र जिम्मेवार डिजिटल वातावरण निर्माण गर्नु हो। सेवा अन्तर्गत अभिभावकले छोराछोरीको दैनिक स्क्रिन समय सीमित गर्न, मेसेज वा कमेन्ट गर्न नपाउने व्यवस्था गर्न, उमेरअनुसारको सामग्री मात्र देखिने बनाउन, खाता खोज्न मिल्ने वा नमिल्ने बनाउने तथा सर्च सेटिङमा पनि नियन्त्रण गर्न सक्नेछन् ।

यो सुविधा प्रयोग गर्न ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गई क्युआर कोड स्क्यान गरेर अभिभावक र किशोर प्रयोगकर्ताको खाता आपसमा लिंक गर्नुपर्ने हुन्छ। एकपटक खाता जोडिएपछि अभिभावकले आफ्नो मोबाइलबाटै छोराछोरीको खाता व्यवस्थापन गर्न सक्नेछन् ।

टिकटकका दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भन्नुभयो, “समाजको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो। किशोर प्रयोगकर्ताका लागि नेपालमा यो सेवा उपयोगी हुने विश्वास लिएका छौं।”