शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

दुई पुस्तक एकैपटक प्रकाशन गर्ने त्रिदेव पौडेललाई राष्ट्रिय बाल पुरस्कार

दुई पुस्तक एकैपटक प्रकाशन गर्ने त्रिदेव पौडेललाई राष्ट्रिय बाल पुरस्कार
सुन्नुहोस्

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले नवलपुरका त्रिदेव पौडेललाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत गर्ने भएको छ।
देवचुली नगरपालिका–१५, प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थायी ठेगाना भई हाल नागार्जुन–१०, स्यूचाटार, काठमाडौँमा बसोबास गर्दै आएका १४ वर्षीय पौडेल ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन्। उनले हालसम्म १३ वटा कविता, ९ वटा कथा, १७ वटा निबन्धात्मक लेख, ४ वटा नाटक र ४० भन्दा बढी चेतनामूलक चित्रहरू सिर्जना गरिसकेका छन्। २०८० फागुन २० गते उनले ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’ शीर्षकका दुई पुस्तक एकैसाथ प्रकाशित गरेका थिए।
विद्यालयको ज्ञानकुञ्ज बालक्लबका सचिव समेत रहेका पौडेल मानव अधिकारकर्मी तिलोत्तम पौडेल र डा. देवकी आचार्यका सुपुत्र हुन्। उनी साहित्य लेखनसँगै खेलकुद र अध्ययन अनुसन्धानमा समेत रुचि राख्ने बालक हुन्।
प्रतिष्ठानले सिन्धुपाल्चोक, हेलम्बुकी सदीक्षा पण्डितलाई पनि यस वर्षको बाल पुरस्कारमा समेट्ने भएको छ। कक्षा ७ मा अध्ययनरत पण्डितले बालविवाह, महिला हिंसा, महिनावारी र वातावरण जस्ता विषयमा सामाजिक चेतना फैलाउँदै परम्परागत किताबी शिक्षा र समाज सुधारलाई एकसाथ अघि बढाएको मूल्यांकन गर्दै उनलाई पनि पुरस्कृत गरिने भएको हो।
यसैबीच, प्रतिष्ठानले गौरी देवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार यसपटक मानव अधिकार एकल महिला समूहलाई प्रदान गर्ने भएको छ। एकल महिलाको क्षेत्रमा ३० वर्षदेखि काम गर्दै आएको यस संस्थाको नेतृत्व लिली थापा गरिरहेकी छन्, जो हाल राष्ट्रिय मानव अधिकार आयोगकी सदस्यसमेत हुन्।
अम्बिका देवी स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार बिनु सुवेदीलाई प्रदान गरिनेछ। पत्रकारितामा परम्परागत दृष्टिकोण तोड्दै महिलाको सक्रिय सहभागिता र जोखिमपूर्ण रिपोर्टिङमा योगदान पुर्‍याएकोमा सुवेदीलाई यो पुरस्कार दिइने भएको हो।
श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार २०८१ भारतको दार्जिलिङ निवासी ७७ वर्षीय बहुआयामिक साहित्यकार डा. जस योन्जनलाई प्रदान गरिनेछ। यो पुरस्कारको राशि ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ।
सबै पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ। पुरस्कारहरू २०८२ बैशाख २० गते नेपाल पर्यटन बोर्डमा आयोजित एक विशेष समारोहमार्फत प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा प्रदान गरिनेछ।
२०६७ सालमा झापामा स्थापना भएको रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले हालसम्म हिमालय शमशेर ज.ब.रा., डा. सन्दुक रुहित, भैरव रिसाल, मानव सेवा आश्रम, सिविन लगायत ३० भन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान गरिसकेको छ।