राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सारिएको भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक भएको स्पष्ट पारेको छ। बोर्डका अनुसार परीक्षा निर्धारित मितिमै सञ्चालन हुनेछ।
बोर्डले एक विज्ञप्ति जारी गर्दै वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा सारिएको भन्ने खबर झूठो भएको र यसले विद्यार्थीहरूमा भ्रम सिर्जना गरिरहेको जनाएको छ।
“विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ।
बोर्डको नाम, लेटरप्याड र अध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गरेर अनधिकृत सूचना सार्वजनिक गरिएको र यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई साइबर कानुनअनुसार कारबाही अगाडि बढाइएको समेत बोर्डले जानकारी दिएको छ।
बोर्डले परीक्षा सहज बनाउने वातावरण तयार पार्न सबै प्रधानाध्यापक, शिक्षक र अभिभावकहरूलाई सहकार्य र समन्वय गर्न अनुरोध गरेको छ।
बाेर्डले भनेको छ “परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ।”
विद्यार्थीहरूलाई आधिकारिक सूचना मात्रमा विश्वास गर्न आग्रह गर्दै बोर्डले सबैलाई शान्त र व्यवस्थित रूपमा परीक्षामा सहभागी हुन तयार रहन अनुरोध गरेको छ।