नेपालमा पहिलोपटक बालबालिकाको लागि छुट्टै अदालत बाल अदालत मंगलबारदेखि सञ्चालनमा आएको छ। भक्तपुर जिल्ला अदालतको पुरानो भवनमा स्थापना गरिएको यस अदालतबाट काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा रहेका बालबालिकासम्बन्धी मुद्दाहरू हेर्ने गरिनेछ।
बाल अदालत सुरु भएको पहिलो दिनमै, काठमाडौंका ९२ र ललितपुरका २९ मुद्दा यहाँ सारिएका छन्। काभ्रे र भक्तपुरका १०–१० वटा मुद्दा पनि ल्याइने तयारी भए पनि त्यो प्रक्रिया अझै बाँकी रहेको अदालतकी स्रेस्तेदार कृष्णशोभा सुवालले जानकारी दिनुभयो।
यस अदालतका न्यायाधीश उपेन्द्रप्रसाद गौतम हुनुहुन्छ, जो यसअघि भक्तपुर जिल्ला अदालतमै कार्यरत हुनुहुन्थ्यो। अबदेखि यी चार जिल्लाका सरकारी वकिलको कार्यालयले बालबालिकासम्बन्धी मुद्दाहरू यही अदालतमा दर्ता गर्न सक्नेछन्। सुरुको दिनमै दुईवटा नयाँ मुद्दा पनि यहाँ दर्ता भइसकेको छ।
बालबालिकाको हक सुनिश्चित गर्नका लागि सरकारले सिफारिस गरेपछि न्यायपरिषद्ले गत मंसिरमा अदालत गठन गर्न प्रस्ताव गरेको थियो। त्यसपछि सरकारबाट माघ १५ गते निर्णय भएर अदालत गठन गरिएको हो।
६ वर्षअघि लागू भएको बालबालिका सम्बन्धी ऐनले बाल अदालतको व्यवस्था गरेको भए पनि त्यो कार्यान्वयनमा आउन सकेको थिएन। अन्ततः सर्वोच्च अदालतले विशेष निर्देशन ९परमादेश० दिएपछि अदालत गठन भएको हो।
अबदेखि, बालबालिका कानुनमा परेमा विशेष रूपमा उनीहरूकै लागि बनेको अदालतमा मुद्दा दर्ता हुनेछ। चार जिल्लामा बाल अदालतले काम गर्ने भए पनि अन्य जिल्लामा भने बाल इजलासमार्फतै बालबालिकाको मुद्दा हेर्ने गरिनेछ।