शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

वैशाख ६ र ७ गते २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

वैशाख ६ र ७ गते २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सरकारले बिहीबार र शुक्रबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

७५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ ।सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ ।

स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् । यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।