शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ। शिक्षा मन्त्री विद्या भट्टराईले यस निर्णयले विद्यार्थीको बहुपक्षीय मूल्याङ्कन प्रणालीलाई सुदृढ पार्ने बताउनुभएको छ।
मन्त्री भट्टराईका अनुसार, मूल्याङ्कनको नयाँ विधि तयार गर्ने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ। उहाँले भन्नुभयो, “विज्ञहरूसँग छलफल गरी १५ दिनभित्र प्रस्ताव ल्याउन निर्देशन दिएका छौं। यो विधि विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई अझ समावेशी बनाउने उद्देश्यले तयार गरिनेछ।”
मन्त्रालयले परीक्षामा कागजमा लेखिएको मात्र नभई विद्यार्थीले सिकेका जीवनोपयोगी सीप र श्रमलाई समेत मूल्याङ्कनमा समावेश गर्न चाहेको छ। मन्त्री भट्टराईले थप गर्नुभयो, “विद्यार्थीले घरमा गरेको काम, जस्तै— आमाबाबुलाई सघाउने, खाना पकाउने, भाइबहिनीको हेरचाह गर्ने, खेतबारीमा सघाउने, वा अन्य घरेलु कामलाई पनि मूल्याङ्कनको आधार बनाइनेछ।”
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले नयाँ विधि छिट्टै लागू गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “शैक्षिक सत्र २०८२ देखि लागू हुने गरी काम भइरहेको छ। यो विधि विद्यार्थीको श्रम र सिपलाई सम्मान गर्ने र उनीहरूको समग्र विकासलाई प्रोत्साहन गर्नेछ।”
नयाँ प्रणालीले आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्याई विद्यार्थीले घरमा गरेको योगदानलाई समावेश गर्नेछ। कक्षा ४ देखि ८ सम्म ५० अंकको आन्तरिक र ५० अंकको बाह्य परीक्षा हुने र कक्षा ९ देखि १२ सम्म २५ अंकको आन्तरिक र ७५ अंकको बाह्य परीक्षा हुने व्यवस्था छ।
मन्त्रालयले यो कदमले विद्यार्थीलाई जीवनोपयोगी सीप सिक्न प्रेरित गर्नुका साथै श्रम र सिपको सम्मान गर्ने संस्कार विकास गर्ने विश्वास लिएको छ।