शनिबार २० पुस, २०८१

नेपाली समय

ज्ञानोदय माविले सुरु गर्‍यो व्यवहारिक शिक्षा: विद्यार्थीले सिक्दै आलु खेती

ज्ञानोदय माविले सुरु गर्‍यो व्यवहारिक शिक्षा: विद्यार्थीले सिक्दै आलु खेती
तस्बिर:ज्ञानोदय माध्यमिक विद्यालयको फेसबुक पेज
सुन्नुहोस्

मध्यविन्दु नगरपालिका वडा नम्बर १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले शिक्षासँगै विद्यार्थीहरूलाई व्यवहारिक सीप प्रदान गर्न आलु खेती सुरु गरेको छ। विद्यालयको जग्गामा विद्यार्थीहरूले आलु खेती गरेका हुन्।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेले विद्यालयले गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै आलु खेती कार्यक्रम सुरु गरेको बताउनु भएको छ। यसका लागि कृषि ज्ञान केन्द्र नवलपुरले आलुको बीउ र मल उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो।  

विद्यालयले ६ कठ्ठा जमिनमा एम यस ४०, जनकदेव, काडियनल र चिप्स बनाउन प्रयोग हुने आलुका बीउ रोपेको छ। यी जातको उत्पादन परीक्षण गरी प्रभावकारी नतिजा निकाल्ने उद्देश्यले खेती गरिएको अध्यक्ष पाण्डेले बताउनु भएको छ।  

विद्यार्थीहरूले शिक्षासँगै आलु खेती गर्दा सिकाइ हुने, ज्ञान बढ्ने र केही आम्दानीसमेत हुने विश्वास गरिएको छ। कक्षा १० का विद्यार्थी अनुप विकले किताबी ज्ञानसँगै आधुनिक कृषिमा उत्पादन वृद्धि गर्ने तरिकाबारे ज्ञान हासिल गरेको अनुभव सुनाउनु भयो।  

यसैगरी, कक्षा ९ की विद्यार्थी शितल चौधरीले खुसी पाठ्यक्रम अन्तर्गत विशेष कार्यक्रममार्फत आलु खेती गर्दा व्यवहारिक सीप सिक्ने अवसर मिलेको बताउनु भयो।  

नगरपालिकाले खुसी पाठ्यक्रम लागू गर्दै विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई जीवनशैलीलाई माटो र प्रकृतिसँग जोड्ने उद्देश्यले विभिन्न प्रयोगात्मक कार्यक्रम सञ्चालन गरिरहेको नगर प्रमुख भीमलाल अधिकारीले बताउनु भएको छ। उहाँले ज्ञानोदय माविले उत्पादनलाई विद्यार्थीहरूको दिवा खाजामा प्रयोग गर्ने योजना बनाएको जानकारी दिनुभयो।  

विद्यालयमा पुष्प खेती, कागती खेती र तोरी खेतीजस्ता कार्यक्रमसमेत सञ्चालन गरिएका छन्। प्रधानाध्यापक टोकबहादुर सुनारीले तरकारी खेतीको सिँचाइका लागि चितवन भूमिगत सिँचाइ परियोजनाको सहयोगमा बोरिङ निर्माण भइरहेको र आगामी वर्षदेखि धान खेती सुरु गर्ने योजना रहेको बताउनु भएको छ।  

समग्रमा, व्यवहारिक शिक्षा र प्रकृतिसँगको सामीप्यले विद्यार्थीहरूलाई नयाँ ऊर्जा र जीवनशैली प्रदान गर्ने विश्वास गरिएको छ।