शनिबार २० पुस, २०८१

नेपाली समय

४१ करोडको भाटभटेनी भवन: किओचको काठमाडौं बाल अस्पताल २०८२ साउनदेखि सञ्चालनमा

४१ करोडको भाटभटेनी भवन: किओचको काठमाडौं बाल अस्पताल २०८२ साउनदेखि सञ्चालनमा
किओच काठमाडौं बाल अस्पतालको डिजाईन
सुन्नुहोस्

वरिष्ठ मुटु शल्यचिकित्सक प्राध्यापक डाक्टर भगवान कोइराला, जसले नेपालमा मुटुरोग उपचारलाई नयाँ उचाइमा पुर्‍याउनु भएको छ, पछिल्ला केही वर्षदेखि उहाँ बाल अस्पताल निर्माण र सञ्चालनको महत्त्वाकांक्षी अभियानमा सक्रिय हुनुहुन्छ । बालबालिकाको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) नामक संस्थाको स्थापना गरी यस अभियानलाई तीव्रता दिनुभएको छ ।  

डाक्टर कोइरालाको नेतृत्वमा किओचले देशका सातवटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। यस अभियानले हालसम्म उल्लेखनीय उपलब्धि हासिल गरेको छ, जसले बालबालिकाको स्वास्थ्य सेवामा अभूतपूर्व योगदान पुर्‍याउने देखिएको छ।  

दमकमा बाल अस्पतालको सफलता  
कोशी प्रदेश अन्तर्गत दमकमा ५० शय्याको बाल अस्पताल सञ्चालनमा आइसकेको छ। यो अस्पताल सञ्चालन भएको डेढ वर्षमा एक लाखभन्दा बढी बालबालिकाले सेवा प्राप्त गरेका छन्। आकस्मिक र ओपीडी सेवामा उल्लेखनीय संख्यामा बिरामीको उपचार गरिएको छ।  

दमक अस्पतालको सफलताले अभियानलाई थप बल प्रदान गरेको छ। डाक्टर कोइरालाका अनुसार, यो अस्पतालले स्थानीय बालबालिकालाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, जसले किओचको अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न मार्ग प्रशस्त गरेको छ।  

काठमाडौंमा सुविधासम्पन्न बाल अस्पताल निर्माण कार्य तीव्र
किओचले काठमाडौंको हेपाली हाइटमा २०८२ साउनदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित सुविधासम्पन्न बाल अस्पताल निर्माण गरिरहेको छ। यो अस्पताल ६ तले भवनमा सञ्चालन हुनेछ, जसमा अत्याधुनिक उपकरण र हेलिप्याडको व्यवस्था हुनेछ।  

यो परियोजनाका लागि भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङको नेतृत्वमा ४१ करोड रुपैयाँको लगानीमा भवन निर्माण भइरहेको छ। निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको र आगामी वैशाखसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।  भाटभटेनीले हेलिप्याडसहितको ६ तले भवन निर्माण गरेर किओचलाई हस्तान्तरण गर्ने छ। भवनसँगै भाटभटेनीले उक्त भवनमा आवश्यक पर्ने फर्निचरदेखि उपकरणहरु समेत उपलब्ध गराउने किओचका प्रोजेक्ट कोअर्डिनेटर दिपेन्द्र खड्काले जानकारी दिनुभयो।

हेपाली हाइटमा अहिले भाटभटेनीले धमाधम भवन निर्माणको काम अगाडि बढाइरहेको छ। उक्त भवनसँगै थप तीन वटा भवन पनि निर्माणको काम अगाडि बढिरहेको छ। तर पहिलो चरणमा भाटभटेनीको भवन निर्माण सम्पन्न हुने र बाँकी दुईवटा भवन निर्माण सम्पन्न हुन भने केही समय लाग्ने खड्काले जानकारी दिनुभयो।

आर्थिक स्रोत जुटाउने प्रयास र प्रगति 
किओचका प्रोजेक्ट कोअर्डिनेटर दिपेन्द्र खड्काका अनुसार, काठमाडौँ अस्पताल निर्माणका लागि कुल १ अर्ब ४१ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। हालसम्म १ अर्ब २० करोड ८४ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भइसकेको छ। बाँकी २० करोड ५९ लाख रुपैयाँ जुटाउन अभियान जारी छ। अस्पताल निर्माणका लागि पाँच सय रुपैयाँदेखि ४१ करोड रुपैयाँ बराबरको सहयोग आइसकेको छ। अस्पताल निर्माणका लागि हालसम्म विभिन्न व्यक्ति र संस्था गरेर ३१८ जनाले सहयोग गरेको खड्काले जानकारी दिनुभयो।

किओचले नगदभन्दा जिन्सी सहयोगलाई प्राथमिकता दिएको छ। अस्पताल निर्माणका लागि आवश्यक सामग्री र उपकरणमा सहयोगी हातहरू जुटाउन विशेष ध्यान दिइएको छ।  

अन्य प्रदेशमा विस्तार गर्ने योजना  
डाक्टर कोइरालाले काठमाडौँमा अस्पताल सञ्चालनपछि अन्य प्रदेशमा पनि बाल अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँका अनुसार, दमक र काठमाडौँको अनुभवले अन्य प्रदेशमा अस्पताल सञ्चालन गर्दा सहजता प्रदान गर्नेछ।  

किओचले पारदर्शिता कायम गर्दै सबै सहयोगी व्यक्ति र संस्थाको विवरण सार्वजनिक गरिरहेको छ। यसले अभियानप्रति जनताको विश्वास र समर्थनलाई अझ बलियो बनाएको छ।  

सरकार र निजी क्षेत्रको हातेमालोको आवश्यकता  
डाक्टर कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्यले बाल अस्पताल निर्माण अभियानलाई थप बल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बालबालिकाको स्वास्थ्य सेवामा सुधार ल्याउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो।  

बालअवाजको अपिल
"साना हातहरूको लागि ठूलो योगदान, अब हामी एकसाथ अघि बढौँ"
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताल निर्माणको महत्त्वपूर्ण अभियान अघि बढिरहेको छ। यो अभियानलाई सफल बनाउन हामी तपाईंको सहयोगको अपेक्षा गर्दछौं।तपाईंको योगदानले हजारौं बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। 

सहयोगका लागि सम्पर्क:
वेबसाइटः https://kioch.org.np

"बालबालिकाको स्वास्थ्य र भविष्यको लागि एकजुट होऔं"