शनिबार २० पुस, २०८१

नेपाली समय

ग्लोबल आइएमई बैंकद्वारा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्रा छनौट

ग्लोबल आइएमई बैंकद्वारा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिएको छ।

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो। यी छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ। 

यस कार्यक्रम अन्तगर्त बैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्रा छनौट गरी ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ। कार्यक्रमअन्तर्गत बैंकले अहिलेसम्म १४० जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरूको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ। 

समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरू आर्थिक रूपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ। 
यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।