आइतबार ०७ पुस, २०८१

नेपाली समय

दोस्रो बालपुस्तक प्रदर्शनी र कथालेखन प्रतियोगिता माघको तेस्रो साता

दोस्रो बालपुस्तक प्रदर्शनी र कथालेखन प्रतियोगिता माघको तेस्रो साता

नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा "बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी स्थलगत विद्यालय स्तरीय कथालेखन प्रतियोगिता"आयोजना हुने भएको छ। कार्यक्रम आगामी माघ २० देखि २४ गतेसम्म नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीमा सञ्चालन हुनेछ।  

कार्यक्रमको औपचारिक घोषणा सोमबार नेपाल प्रज्ञा-प्रतिष्ठानमा गरिएको हो। कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको पोस्टर सार्वजनिक गर्दै बालबालिकाको सिर्जनात्मक लेखन र बालसाहित्यको प्रवर्द्धनमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा उपकुलपति एवम् बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा)को समेत उपस्थिति रहेको थियो ।   

नेपाल बालसाहित्य समाजका अनुसार पाँच दिनसम्म सञ्चालन हुने यस कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा सिर्जनशील क्षमताको विकास गर्नुका साथै पुस्तकप्रतिको रुचि जागृत गराउनु हो। प्रदर्शनीमा बालसाहित्यका पुस्तकहरू प्रदर्शन गरिनेछ भने विद्यालयस्तरीय कथालेखन प्रतियोगितामा उपत्यकाभरका विद्यार्थीहरूको सहभागिता रहनेछ।  

गत बर्ष पहिलो पटक बालपुस्तक प्रदर्शनी र कथालेखन प्रतियोगिता आयोजना गरेका थिए। आयोजकले यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी र सहभागीमूलक बनाउन विविध गतिविधि समावेश गरिएको जानकारी गराएको छ।  

कार्यक्रममा उत्कृष्ट कथालेखन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनेछ। आयोजकले अभिभावक, शिक्षक, विद्यार्थी र बालसाहित्यप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई बालबालिकाको सिर्जनात्मक लेखन क्षमतालाई प्रोत्साहन गर्न आग्रह गरेको छ।