सोमबार ०८ पुस, २०८१

नेपाली समय

माई सेकेन्ड टिचरका विद्यार्थीलाई लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको ग्लोबल सर्टिफिकेट

कक्षा ११ र १२ मा माई सेकेन्ड टिचर मार्फत कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीहरूले अब लन्डन मेट्रोपोलिटन युनिभर्सिटी बाट निःशुल्क प्रमाणपत्र प्राप्त गर्ने

माई सेकेन्ड टिचरका विद्यार्थीलाई लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको ग्लोबल सर्टिफिकेट
सुन्नुहोस्

कक्षा ११ र १२ मा माई सेकेन्ड टिचर मार्फत कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीहरूले अब लन्डन मेट्रोपोलिटन युनिभर्सिटी बाट निःशुल्क प्रमाणपत्र प्राप्त गर्ने अवसर पाउने भएका छन्।  सोमबार राजधानीमा आयोजित कार्यक्रममा लन्डन मेट्रोपोलिटन युनिभर्सिटी, माई सेकेन्ड टिचर, र इस्लिङटन कलेजका प्रतिनिधिहरूबीच यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  

कार्यक्रममा बोल्दै आईएनजी ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रले पर्यटनभन्दा बढी आम्दानी गर्ने सम्भावना रहेको बताएका छन्। उनले भने, “राज्यको करिब शून्य लगानी रहेको यो क्षेत्र मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण छ। हामीले युवालाई नेपालमै अवसर सिर्जना गर्दै आईटी क्षेत्रमा लगानी गर्न सके देशको कायापलट सम्भव छ।”  

उनका अनुसार, माई सेकेन्ड टिचरमार्फत कम्प्युटर साइन्स अध्ययन गरेका विद्यार्थीहरूले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीले इन्डोर्स गरेको ग्लोबल सर्टिफिकेट प्राप्त गर्नेछन्। यसले नेपालको आईटी क्षेत्रलाई अझै सबल र प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ।  

कार्यक्रममा लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको स्कुल अफ कम्प्युटिङ एन्ड डिजिटल मिडिया विभागका डिन क्रिस्टोफर लेन, इस्लिङटन कलेजका कार्यवाहक सीईओ रोहित पाण्डे, र माई सेकेन्ड टिचरकी प्रमुख मेधा भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।  

नेपालमै बसेर गुणस्तरीय आईटी शिक्षा प्राप्त गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न यो अभियानले विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।