सोमबार ०८ पुस, २०८१

नेपाली समय

किशोर किशोरीहरुसंगको सहकार्या : सन्दर्भ बाल अधिकार र बाल कर्तव्य

किशोर किशोरीहरुसंगको सहकार्या : सन्दर्भ बाल अधिकार र बाल कर्तव्य
एआई बाट तयार गरिएको तस्बिर
सुन्नुहोस्

संयुक्त राष्ट्र  संघबाट बाल अधिकार महासन्धि, १९८९ पारित भइ सके पश्चात् बाल अधिकारको विषयमा व्यापक छलफल, बहश र अन्तरक्रिया हुने गर्दथ्यो । त्यसै वेला देखि अर्थात सन्  '९० को दशकमा नै सिविन-नेपालले "बाल अधिकार तथा बाल जिम्मेवारी" नामक पुस्तिका प्रकाशन गरी बालबालिका, शिक्षक र अभिभावकहरूमा सामाजिक चेतना प्रवर्द्धन गर्नाको साथै सो विषयमा आफ्नो विचार सुस्पष्ट  गरेको हो । त्यतिञ्जेल, पश्चिमा मुलुकका बाल अधिकार अभियन्ता र विशेषज्ञहरु "बालबालिकाका अधिकार मात्र हुन्छन्  कर्तव्य हुँदैनन् " (Children have only rights, no duties) भनी बहस र विचार अगाडि सार्थे । हामीले त्यो भ्रमलाई चिर्दै "बाल अधिकार र बाल कर्तव्य" को अवधारणा अगाडि बढाएका हौं ।


बालबालिका वा किशोर-किशोरीहरु हरेक घर-परिवार, बिद्यालय, समुदाय, समाज र देशका अभिन्न र महत्वपूर्ण अङ्ग हुन् । उनीहरुको सहि विकास, संरक्षण र लालन-पालनमा नै देशको भविष्य निर्धारण गरेको हुन्छ । त्यसैले, झण्डै विगत ४० बर्ष देखि बालबालिकाको अधिकार, विकास र संरक्षणको विषयमा अभियान चलाउँदै आएका हौं ।


हाल आएर कतिपय शिक्षक, अभिभावक तथा बुद्धिजीवीहरूले मलाई समय-समयमा भन्नु हुन्छ, "बालबालिकालाई अधिकार वेशी भो", "कर्तव्य पनि सिकाउन पर्छ", गौरी-जी । "बालबालिका, खासगरी किशोर-किशोरीहरुले आमा-बुवाले भनेका कुरा सुन्न नै  छाडे, मान्न नै छाडे।" इत्यादि ।  मेरो विचारमा बाल-बालिकाको विकास, संरक्षण र सहभागिताको निम्ति बन्दोबस्त गरेका कुराहरु अझै ब्यवहारमा प्रभावकारी बन्न सकेका छैनन्, त्यसैले बालबालिकाको अधिकार वेशी भो भन्नू ठिक होइन । बरु, त्यस विषयमा बालबालिकाको पनि जिम्मेवारी हुन्छ भन्ने कुरामा दुई मत छैन । अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन् । आजभोलि कतिपय घरमा आमा-बुवा, अभिभावकहरु संग किशोरकिशोरीहरूका सोच, विचार र व्यवहार नमिलेर पारिवारिक वातावरण राम्रो नभएको र कहिलेकाहीँ द्वन्द्व समेत हुने गरेको कुरा पनि सुनिन्छ । विद्यालयहरुमा पनि समस्याको सहि तरिकाले संवोधन गर्न नसक्दा समस्या जटिल हुँदै गएको कुरा पनु सुनिन्छ । जसले गर्दा बालबालिकाले समय-समयमा अप्रिय  निर्णय लिएका, घर छोडी हिँडेका, साथीहरुको लहलहैमा लागेका कुराहरु पनि देखिन्छ । त्यसको निम्ति बालबालिकालाई हप्काएर, थर्काएर, वास्ता नगरेर, कुटपिट गरेर वा कडा अनुशासनमा राखेर समस्या समाधान हुने होइन ।  बरु सम्झाएर, बुझाएर र सिकाएर उनीहरुमा जिम्मेवारी वोध गराउन सक्नु पर्दछ । बालबालिकाले आफ्नो जिम्मेवारी र कर्तव्य भित्रि मन देखि महशुस गरेनन् भने त्यो ब्यवहारमा प्रभावकारी हुँदैनन् ।  त्यसैले, सबै बालबालिका, किशोर-किशोरी, आमा-बुवा, अभिभावक तथा शिक्षक तथा सामाजिक कार्यकर्ता र मनो-विमर्शकहरुलाई सहयोग होस् भनी त्यस विषयमा म आफ्ना सोच र अवधारणा निम्नानुसार राख्न चाहन्छु:


१. हरेक बालबालिकाको गुण स्तरीय र सार्थक र सान्दर्भिक शिक्षा आर्जन गर्ने अधिकार हुन्छ । त्यसको सुनिश्चिता गर्नु, राज्य, समाज र अभिभावकको जिम्मेवारी हो । साथसाथै, राम्ररी पढ्नु, पढाएका कुराहरु ध्यान दिएर सुन्नु, बुझ्नु र प्रश्नोत्तरमा भाग लिनु, अनुशासनमा बस्नु, किताब-कापी र शैक्षिक सामग्रीको जोहो गर्नु बालबालिकाका कर्तव्य हुन्  ।


२. कुनै पनि प्रकारको बालश्रम शोषणबाट मुक्त भइ संरक्षित हुन पाउनु बालबालिकाको अधिकार हो । तर, आफ्नो घर-आँगन सफा राख्नु, भाइ-बहिनीहरूलाई माया गर्नु,  बगैँचा, कोठेबारी र खेतबारी आदिमा आफ्नो पढाईमा असर नपर्ने गरी आमा-बुवा र अभिभावकलाई सघाउनु सामाजिकरणको अंग पनि हो र ती कुराहरुलाई ध्यान दिएर अप्नाउनु बालबालिकाका कर्तव्य हुन्  ।


३. खेलकुद, मनोरञ्जन तथा सृजनशील गतिविधिहरुमा भाग लिन पाउनु, बाल तथा किशोर-किशोरी क्लबहरुमा सहभागी हुन पाउनु उनीहरुको अधिकार हुन् । तर, आफ्नो नियमित अध्ययन, गृहकार्य  र बिद्यालय जीवनमा असर नपर्ने गरी सहभागिता निर्वाह गर्नु बालबालिकाका कर्तव्य हुन् ।


४. आधुनिक सूचना प्रविधिमा पहुँच पाउनु बालबालिकाको अधिकार हो, तर, अन-लाइन सुरक्षाको बारे सचेत हुनु, सधैंभरि सामाजिक सञ्जाल: फेसबूक, टिकटक, रिल्स आदिमा नअल्झी आफ्नो गृह-कार्य, नियमित अध्ययन, शारीरिक व्यायाम तथा सामाजिक गतिविधिहरुमा सहभागी हुनु बालबालिकाका परम कर्तव्य हुन्  ।


५. पर्याप्त र गुणस्तरीय गाँस-बास-कपास (पोषणयुक्त खाना, सुरक्षित आवास र मौसम अनुसारको कपडा), स्वास्थ्य, शिक्षा र संरक्षण पाउनु बालबालिकाको अधिकार हो, तर त्यसको जोहो गर्नु, खेरो नफाल्नु, नभएकाहरु संग भएकाहरुले बाँड्चुड गर्नु बालबालिकाका कर्तव्य हुन्  ।


६. कुनै पनि शारीरिक, मानसिक, यौनिक तथा मनोवैज्ञानिक दुर्व्यवहार, दुराचार र यातना मुक्त व्यवहार र वातावरणमा घर, परिवार र समुदायमा सुरक्षित भइ  बाँच्न पाउनु बालबालिकाको अधिकार हो । तर, त्यसबारे सचेत हुनु, लोभ-लालसामा नफस्नु र कसैले गलत मनसायले आफुलाई छुन, गलत कार्य गर्न उक्साउन र धम्की दिन खोज्छ भने बिना संकोच र डर नमानी त्यसको विरोध गर्नु र सो बारे आफ्ना आमा-बुवा, भरपर्दा शिक्षक र सामाजिक कार्यकर्ताहरु संग हिम्मतका साथ आफ्ना अप्ठ्याराहरु भन्नू, परामर्श गर्नु, र उहाँहरुको सल्लाह-सुझावहरु सुन्नु र मान्नु बालबालिकाका कर्तव्य हुन्  ।


७. बाल क्लबहरूमा सहभागी भै ज्ञान गुनका कुराहरु सिक्नु, आफ्नो सृजनशीलता विकास गर्नु, वातावरणको संरक्षण गर्नु, समाज, देश र विश्वका ज्ञानका कुराहरु थाहा पाउनु र आफ्ना सरोकारका विषयहरु बाल क्लबका माध्यमबाट सुनाउनु पाउनु बालबालिकाको अधिकार हो । तर, लहलहैमा नलाग्नु, के सहि के गलत भनेर अध्ययन गर्नु, छलफल र परामर्शमा भाग लिनु, साथी-सङ्गीहरुसंग स्वस्थ सम्बन्ध राख्नु, कसैसँग झै-झगडा नगर्नु र कथम कदाचित द्वन्द्व भएमा त्यसलाई संवादको माध्यम सहि निश्कर्ष निकाल्नु र सो कार्यमा शिक्षक, अभिभावक वा वयस्कहरुको सहयोग र सहजीकरण माग्नु बालबालिकाका कर्तव्य हुन्  ।


८. खेलकुद, गीत-संगीत, साहित्य, कला, मनोरञ्जन, शैक्षिक भ्रमण आदिमा सहभागी हुन पाउनु बालबालिकाको अधिकार हो । तर, जोखिमपूर्ण कामहरु नगर्नु, बालबिंजाईमा संलग्न नहुनु, हिंसात्मक गतिविधिहरूबाट टाढा बस्नु, धूमपान, मद्यपान र नशालु पदार्थको सेवन नगर्नु र कुनै पनि अशुरक्षित कार्यम नगर्नु वा भाग नलिनु बालबालिकाका कर्तव्य हुन्  ।


९. प्रजनन स्वास्थ्य वा यौन शिक्षाबारे  थाहा पाउनु, त्यसबारेमा स्वस्थ ढङ्गले अध्ययन गर्नु, छलफल र अन्तरक्रियामा भाग लिन पाउनु बालबालिकाको अधिकार हो । तर, सानो उमेरमा  यौन गतिविधिहरूमा संलग्न रहनु, बाल बिबाह गर्नु  र २० बर्ष अगाडि हुने बिबाहबाट जोगिनु र त्यसबारे सचेत हुनु बालबालिकाका कर्तव्य हुन् । कसैले त्यसबारे जबरजस्ती गरे त्यसबारे आवाज उठाउनु बालबालिका र बाल क्लबहरूका कर्तव्य हुन् ।


किशोर-किशोरी वा नव-युवाको अवस्थामा उनीहरुको शारीरिक, मानसिक-मनोवैज्ञानिक र सामाजिक अवस्था र सोचहरूमा विस्तारै परिवर्तन आउनु स्वाभाविक नै हो । त्यसबेला, उनीहरु पहिलेको भन्दा स्वतन्त्रता, स्वायत्तता र आत्म-निर्णयको सम्मान खोज्छन् । आफ्ना विचार र पहिचान बनाउन खोज्छन् , विपरित लिङ्ग वा मन परेका साथीहरु संग घनिष्ठ हुन खोज्छन्  । एकान्त कोठामा बसेर साथीहरुसँग गफ-सफ गर्न रुचाउँछन्, सामाजिक सञ्जालहरुमा अल्झिन खोज्छन् । आमा-बुवा र अभिभावकहरुले उनीहरुकस त्यस्ता कुराहरु बुझेर साथ-सहयोग र अनुगमन गर्नु पर्दछ । साथसाथै, उनीहरु खराब  संगतमा नपरुन भनेर उनीहरुका साथीहरुलाई चिन्नु, माया गर्नु र उनीहरुसंग पनि कुराकानी गर्न पर्दछ । परिवारले पनि घरमा, आफ्ना बालबालिका र किशोर-किशोरीहरुलाई स्कुल, साथीहरु र संगतको बारेमा छलफल र अन्तरक्रिया गर्न पाउने वातावरण बनाई दिन पर्दछ । साथसाथै, किशोर-किशोरीहरूले पनि आफ्ना बुवा-आमा वा अभिभावकहरु संग आफुले सिकेका राम्रा कुराहरु र भोगेका नराम्रा कुराहरु बारे छलफल र गुनासा पोख्न अप्ठ्यारो मान्नु हुँदैन । अन्यथा, तिनै कुराहरु पछि गएर गम्भीर बन्न सक्दछन् ।


१०. कुनै पनि खाले डर, धम्की, दुराचार, दुर्व्यवहार, शोषण र जोखिमबाट सुरक्षित हुन पाउनु बालबालिकाको मौलिक अधिकार हुन् । कसैले पनि बालबालिकालाई गलत कार्यमा प्रयोग गर्नु हुँदैन । कथम कदाचित् आफू र आफ्ना साथी-संङ्गीहरु जोखिम र अप्ठ्यारोमा परे भने त्यसबाट जोगिन र तत्काल सहयोग लिनको निम्ति बाल हेल्प लाइनको १०९८ (दस-नौ-आठ), बालबालिका खोजतलास केन्द्रको १०४ (एक सय चार), नेपाल प्रहरीको हटलाइन नं (१००), आत्महत्या रोकथाम सम्वन्धी हटलाइन सेवा (११६६ ), महिला हिंसा रोकथाम सम्वन्धी हेल्पलाइन सेवा (११४५ ) र अन्य हेल्पलाइन नम्बरहरु बारे थाहा पाउनु र संकटको बेला आफू र आफ्ना साथीहरुको सहायताको निम्ति त्यसमा सम्पर्क गर्नु, परामर्श गर्नु र सो बाट प्राप्त मार्ग-निर्देशनहरु मान्नु बालबालिकाका कर्तव्य हुन् । यी र यस्ता बालबालिका र किशोर-किशोरीहरुसँग सम्वन्धित अधिकार र कर्तव्य बारे थाहा पाउनु, सो बारे आफ्ना शिक्षक, अभिभावक तथा भरपर्दा साथी-संगीहरु, बाल अधिकारकर्मी, सामाजिक कार्यकर्ता र मनो-सामाजिक विमर्शकर्ताहरु र  नेपाल प्रहरीको महिला तथा बालबालिका सेलमा सम्पर्क, छलफल गर्नु  र उहाँहरुको सल्लाह-सुझाव लिनु सचेत बालबालिकाका परम कर्तव्य हुन ।

(प्रधान राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त, बाल अधिकार तथा मानव अधिकार रक्षक समेत हुनुहुन्छ ।)