बेलायतमा बिहीबार प्रकाशित एक अनुसन्धानले बालबालिकाहरूमा कोरोना भाइरसको गम्भीर संक्रमण ‘दुर्लभ’ हुने गरेको र सोका कारण हुने मृत्युलाई ‘झनै दुर्लभ’ भएको जनाएको छ।
बेलायतका १ सय ३८ अस्पतालमा भर्ना गरिएका कोभिड-१९ संक्रमित बालबालिकामाथि गरिएको अनुसन्धानले यस्तो देखाएको समाचार बिबिसीले प्रकाशित गरेको छ।
शोधका अनुसार अस्पतालमा भर्ना भएका ६ जना बालबालिकाको मृत्यु भएको छ र यो एक प्रतिशत हुन आउँछ। कोरोनाका कारण मृत्यु भएका ती बालबालिका पहिलेदेखिनै अन्य कुनै न कुनै गम्भीर बिरामी वा स्वास्थ्य समस्याबाट पीडित रहेका अनुसन्धानमा पाइएको छ।
‘निश्चित रूपमा कोभिड-१९ ले बालबालिकामाथि बढी हानी पुर्याइरहेको छैन भन्न सक्छौं’, अनुसन्धानको नेतृत्व गरेका युनिभर्सिटी अफ लिभरपुलका प्रोफेसर म्यालकम सेम्प्ले भने।
‘यस शोधका अनुसार बालबालिकामाथि कोभिड-१९ को असर गम्भीर रूपमा हुन्छ भन्ने कुरा दुर्लभ छ भने यसका कारण मृत्यु पनि कम छ। यसबाट अभिभावकहरू आफ्ना सन्तान स्कूल जाँदा उनीहरूमाथि कुनै खतरा हुँदैन भन्ने कुरामा आश्वस्त हुनसक्छन्’, उनले भने।
कोरोना भाइरसको विश्व तथ्यांकले पनि कोरोनाबाट बालबालिका र किशोरहरू एक देखि दुई प्रतिशतमात्र प्रभावित भएको देखाएको छ। बालबालिकामा भएको संक्रमणमध्ये धेरैजसोमा सामान्य लक्षण वा कुनै पनि लक्षण भेटिने गरेको छैन।
अनुसन्धानको नतिजा बिएमजेको जर्नलमा प्रकाशित भएको छ। यस शोधमा प्रोफेसर म्यालकमको टोलीले १९ वर्षभन्दा कम उमेरका ६ सय ५१ बालबालिकाहरूको तथ्यांक अध्ययन गरेको थियो। यस क्रममा उनीहरूले जनवरी १७ देखि जुलाई ३ को समयावधिमा अस्पताल भर्ना भएका बालबालिकाहरूको अध्ययन गरेका थिए।
-एजेन्सीको सहयोगमा