केही समयअघि एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी भेट्नुभएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खातुनले प्रधानमन्त्री ओलीसँग भेटेको जनाउनु भएको छ । भेटमा उहाँले एसिड आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग गरेको बताइएको छ ।
साथै, मुस्कानले आफ्नो स्वास्थ्यबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ। प्रधानमन्त्रीले प्रधानमन्त्रीले तेजाब ओसार, पसार, बिक्रीमा कडाइ गर्ने बताउनुभयो। त्यसैगरी तेजाबपीडितहरूको सुझावका आधारमा कानुन हेरफेर गर्ने आश्वासन दिनुभयो ।
मुस्कान गत भदौमा वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा एसिड प्रहारबाट घाइते हुनुभएको थियो । एसिड प्रहार गर्ने २ युवक प्रहरीको नियन्त्रणमा छन् । स्वदेश तथा विदेशका चर्चित कलाकार, खेलाडी तथा विभिन्न क्षेत्रबाट सामाजिक सञ्जाल र प्रत्यक्ष प्राप्त शुभकामनाले आफूमा हौसला र उत्साह थपिएको मुस्कानले बताउनुभयो । उहाँ अहिले उपचारपछि स्वस्थ हुनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितहरुको गुनासोप्रति चासो देखाउनु भएको छ ।
एसिड आक्रमणमा परेका पीडितहरुको पक्षमा निरन्तर पैरवी र उपचारमा सहयोग गर्दै आएका उज्वलविक्रम थापा र मुस्कान खातुनसहितको टोलीसँगको भेटमा प्रधामन्त्री ओलीले एसिड आक्रमण रोक्न छुट्टै कानुन बनाउने आश्वासन दिनुभयो ।
निरन्तर रुपमा एसिड आक्रमण भइरहेको र रोकथामका लागि सरकारको पर्याप्त प्रयास नभएको व्यापक जनगुनासोपछि प्रधानमन्त्री ओलीले अभियन्ता थापा र एसिड पीडित मुस्कान खातुनलाई भेट्न बोलाउनु भएको थियो । सो भेटमा अभियन्ता थापाले एसिड आक्रमण रोक्नका लागि आक्रमणकारीलाई जन्मकैदसम्मको सजाय, औचित्यपूर्ण विक्रीका साथै आक्रमणमा परेकाको तत्काल उपचार र रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सो भेटमा मुस्कान खातुनले एसिड आक्रमणमा परे पनि आफूमा उच्चशिक्षा अध्ययनका लागि हिम्मत नहारेको भन्दै उच्चशिक्षा अध्ययनका लागि लाग्ने बताउनुभयो ।
मुस्कानको कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले मुस्कानको उच्च शिक्षा हासिल गर्ने लक्ष्यमा कसैले रोक्न नसक्ने भन्दै सामाजिक सञ्जालको पछि नलागेर अध्ययनमा अघि बढ्न सुझाव दिनुभयो ।
(तस्बिर: प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक बाट )