सोमबार ०८ पुस, २०८१

नेपाली समय

युनिसेफले नेपाल लगायत ९२ देशमा निशुल्क कोरोना खोप उपलब्ध गराउने

युनिसेफले नेपाल लगायत ९२ देशमा निशुल्क कोरोना खोप उपलब्ध गराउने

गरिब मुलुकमा खोप उपलब्ध गराउने विश्वव्यापी प्रयास ‘गाभी’ को कार्यक्रम अन्तर्गत कोरोना खोप खरिद तथा वितरणको नेतृत्व युनिसेफले गर्ने भएको छ।

विश्वव्यापी ‘कोभ्याक्स फ्यासिलिटी’ का तर्फबाट युनिसेफले उत्पादक तथा साझेदारसँगको सहकार्यमा कोरोना खोप खरिद, ढुवानी, बन्दोबस्ती तथा भण्डारणको नेतृत्व गर्ने भएको हो। कोभ्याक्स फ्यासिलिटी संसारका सबै मुलुकमा खोप पुगोस् भनेर सुनिश्चित गर्न स्थापना गरिएको हो।

युनिसेफद्वारा जारी विज्ञप्ति अनुसार कोभ्याक्सका तर्फबाट यसले न्यून तथा न्यून मध्यम आय भएका ९२ देशका लागि ‘पिएएचओ’ कोषसँगको सहकार्यमा खोप किनेर आपूर्ति गर्नेछ।

गाभीको न्यून र मध्यम आयका भएका ९२ देशको सूचीमा नेपाल पनि पर्छ। गाभीको प्रतिबद्धतामा अग्रिम रूपमा सहभागी हुन नेपालले पनि गत भदौ ४ मा आशय-पत्र पठाएको थियो। गाभी सचिवालय र कोभ्याक्सले उक्त पत्र पाइसकेको पुष्टि गरेका पनि युनिसेफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गाभी र कोभ्याक्स नेपालको आशय-पत्रमा सहमत भएपछि नेपालले पनि यो खोप पाउनेछ।

निकट भविष्यमै उपलब्ध हुने कोरोना खोप प्राप्त गर्नबाट कुनै देश वन्चित हुनु नपरोस् भनि कोभ्याक्स फ्यासिलिटी खुला रहेको युनिसेफले जनाएको छ।

युनिसेफका अनुसार यो कार्यक्रम अन्तर्गत उच्च आय भएका ८० देशले भने आफ्नै सरकारी बजेटबाट रकम व्यवस्था गरेर कोभ्याक्समा सहभागी हुने आशय व्यक्त गरेका छन्। उनीहरूले किन्ने खोपमा पनि युनिसेफले संयोजकका रूपमा सघाउनेछ।

यो काम युनिसेफले विश्व स्वास्थ्य संगठन, गाभी, सिईपिआई, पिएएचओ, विश्व बैंक, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन तथा अन्य साझेदारसँग सहकार्य गर्नेछ।

‘कोभिड-१९ विरुद्धको लडाइँ जारी राख्न सरकार, उत्पादक तथा बहुपक्षीय साझेदारका बीचमा भएको यो एउटा अत्यन्तै बहुपक्षीय साझेदारी हो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनिन्, ‘अहिले खोपका लागि सामूहिक कोसिस भइरहेको छ। भविष्यमा उपलब्ध हुनासाथ सबै देशले सुरक्षित, छिटो र समान वितरणका आधारमा खोप पाउनेछन् भन्ने सुनिश्चित गर्न युनिसेफले आपूर्तिमा आफ्नो क्षमता भरपुर उपयोग गरिरहेको छ।’

युनिसेफ करिब १०० देशका तर्फबाट नियमित कार्यक्रमसहित महामारी समयमा खोप उपलब्ध गराउन वार्षिक २ अर्ब संख्यामा खोप किन्ने ठूलो खरिदकर्ता हो। गाभीको मुख्य खरिद साझेदारका रूपमा रहेको युनिसेफले विगत २० वर्षमा ७६ करोडभन्दा बढी बालबालिकाका लागि खोप उपलब्ध गराइसकेको छ।

कोभ्याक्सका तर्फबाट जुन महिनामा युनिसेफले आशय-पत्र आह्वान गरेकामा विभिन्न १० देशमा उत्पादन क्षमता रहेका २८ वटा उत्पादकले सन् २०२३ सम्मको वार्षिक उत्पादन योजना प्रस्तुत गरेका युनिसेफले जनाएको छ। उत्पादकद्वारा प्रस्तुत समयरेखा हेर्दा खोप विकासदेखि उत्पादन चरणसम्मको समयावधि अनुसन्धान तथा उत्पादन क्षेत्रमा इतिहासकै तीव्र प्रगति हुन सक्ने युनिसेफले बताएको छ।

युनिसेफको बजार अध्ययनअनुसार आगामी १-२ वर्षभित्रै उत्पादकहरू सामूहिक रूपमा धेरै संख्यामा खोप उत्पादन गर्न इच्छुक छन्। यद्यपि, ठूलो उत्पादनका लागि आवश्यक लगानी धेरै हदसम्म चिकित्सकीय (क्लिनिकल) परीक्षणको सफलता, खरिदको अग्रिम सम्झौता, आर्थिक सहयोग निश्चितता तथा नियमनकारी एवं दर्ता प्रक्रिया लगायत कुरामा निर्भर रहने संकेत गरेका छन्।

युनिसेफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अबको मुख्य कदम, आत्मनिर्भर मुलुकलाई सेप्टेम्बर १८ भित्र कोभ्याक्स फ्यासिलिटीमा सहभागी गराउन पहल गर्ने हो। यसले गर्दा अग्रिम खरिद सम्झौता गर्न सम्भव हुन्छ। जोखिममा रहेका सुरूआती लगानीकर्तालाई उत्पादन बढाउन सहयोग हुनेछ।’

यो कार्यक्रम अन्तर्गत खोप कसरी र कहाँ आपूर्ति गर्ने भन्ने मार्गनिर्देशन विश्व स्वास्थ्य संगठनले तयार पारिरहेको प्रारूपले गर्नेछ। प्रारम्भिक चरणमा देशहरूलाई उपलब्ध गराइने खोप स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्तालाई लगाइने अपेक्षा गरिएको छ भने त्यसपछि क्रमशः कोरोनाको उच्च जोखिममा रहेकालाई लगाउन उपयोगी रहनेछ।

‘गाभीको दुई दशकको सफल यात्रामा युनिसेफ अत्यन्तै महत्वपूर्ण साझेदार छ। यो साझेदारीमार्फत विश्वका आधाभन्दा बढी जनसंख्यासम्म जीवन बचाउने खोप उपलब्ध गराइसकिएको छ,’ गाभीका प्रमुख कार्यकारी अधिकृत डा. सेठ बर्कलीले भनेका छन् ।