सोमबार ०८ पुस, २०८१

नेपाली समय

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह 

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह 

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारलाई संवेदनशील हुन आगरुह गर्नुभएको छ ।

आज राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको जनाउनु भएको छ ।

यस वर्षको दिवस ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ सोमबार मनाइँदै छ ।

‘गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार हो । यससन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी विद्यालयलाई आकर्षणको केन्द्र बनाउन तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरू, सामुदायिक क्षेत्र, सञ्चारजगत् तथा नागरिक समाजबाट विभिन्न पहलहरू भइरहेका छन्’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

बालहिंसाविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गर्दै । बालसंरक्षण प्रणाली सुदृढीकरण गर्दै अनाथ तथा संरक्षणविहीन बालबालिकाको संरक्षकत्व राज्यले ग्रहण गर्ने नीतिसमेत लिएको उहाँले स्मरण गर्नुभयो ।

महामारीका समयमा वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको भविष्यका जिम्मेवार नागरिक आजका बालबालिकाको संरक्षण र विकासमा दत्तचित्त भई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा साकार पार्न सम्बद्ध सबैको प्रतिबद्धताको अपेक्षा पनि व्यक्त गर्नुभयो ।

 

(वर्तमानका साझेदार भविष्यका कर्णधार सम्पुर्ण बालबालिकाहरू लाई “बिपतमा बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता” भन्ने राष्ट्रिय नाराका साथ सम्पन्न हुन गईरहेको राष्ट्रिय बाल दिवस २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । – बाल आवाज परिवार)