सोमबार ०८ पुस, २०८१

नेपाली समय

‘कोभ्याक्सिन’ खोप दुई बर्ष माथिका बालबालिकामा ‘ट्रायल’ गर्दै भारत

‘कोभ्याक्सिन’ खोप दुई बर्ष माथिका बालबालिकामा ‘ट्रायल’ गर्दै भारत

भारतमा कोरोनाबिरुद्धको खोप बालबालिकामा पनि ट्रायल हुने भएको छ । सरकारले २ देखि १८ बर्ष उमेर समूहका बालबालिकामा खोप ट्रायल गर्ने भएको हो । भारत बायोन्टेकले बनाएको कोभिडबिरुद्धको खोप कोभ्याक्सिनको ट्रायल गर्न लागेको हो ।

मंगलबार नीति आयोगको सदस्य डा वीके पालले ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डीसीजीआई)ले २ देखि १८ बर्ष उमेर समूहका बालबालिकामा कोभ्याक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न अनुमति दिएको हो ।

डा पालले भने, ‘मैले थाहा पाए अनुसार आगामी १०- १२ दिनमा यो ट्रायल शुरु हुनेछ । यसबाहेक डीआरडीओले उत्पादन गरेको एन्टी कोभिड ड्रग २ डिजीको पनि आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । हामीले उपचार प्रोटोकलमा यसलाई दिनका लागि औषधिको जाँच गर्नेछौँ ।’

अहिले कोभ्याक्सिनको प्रयोग देशमा १८ बर्ष भन्दा माथिका उमेर समूहलाई दिइरहेको छ ।

दिल्ली पटना र नागपुरमा ट्रायल गरिने

सब्जेक्ट एक्सपर्टस कमिटीले एम्स दिल्ली, एम्स पटना र मेडिट्रिना इस्टिच्युट अफ मेडिकल साइन्सेज नागपुरमा ५२५ जना बालबालिकामा यो ट्रायल गर्नका लागि अनुमति दिइएको छ ।

यो सफल भएमा क्यानडा र अमेरिकापछि भारतमा पनि दुई देखि १८ बर्ष उमेर समूहकालागि कोरोनाको खोप तयार हुनेछ । भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर)को सहयोगमा भारत बायोन्टेकले कोभ्याक्सिन खोप विकसित गरेको हो ।

भारतमा विज्ञहरुले कोरोनाको तेस्रो लहर आउने र त्यसले बालबालिकामा बढी असर गर्नसक्ने बताएसंगै भारतले खोप परीक्षण र खोप अभियानलाई पहिलो प्राथमिकता राखेर काम अघि बढाएको छ ।

अमेरिकामा १२ देखि १५ बर्ष उमेर समूहलाई खोप लगाउन अनुमति

यसअघि सोमबार अमेरिकाको नियमक निकाय युएस एफडीएले १२ देखि १५ बर्ष उमेर समूहका बालबालिकालाई फाइजर बायोन्टेकको कोरोनाबिरुद्धको खोप दिन अनुमति दिएको थियो । अहिलेसम्म यो खोप १६ बर्ष माथिका व्यक्तिलाई दिइदै आएको छ ।

यसअघि क्यानडामा फाइजर बायोन्टेक खोपले बालबालिकामा प्रयोग गर्न अनुमति पाएको थियो । त्यहाँ १२ देखि १५ बर्षका बालबालिकामा यो खोप दिइदै आएको छ ।