नेपालमा अहिले संक्रमणको दर अत्याधिक मात्रामा बढिरहेको छ । पहिलो लहरको संक्रमण भन्दा दोस्रो लहरमा कोराना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर तथा मृत्यु हुनेको संख्या पनि बढेको तथ्यांकले देखाएको छ ।
कोरोना संक्रमितको कारण हालसम्म नेपालमा ७०४७ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणका कारण अभिभावक गुमाउन परेका बालबालिकाको हेरचाह संरक्षण र पालन पोषण गर्न परिवारका अन्य सदस्य वा संरक्षक नभएर राज्यले बालबालिकाको पालनपोषण र संरक्षण गर्ने भएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बालअधिकार परिषद मार्फत विशेष संरक्षणको व्यवस्था गर्ने भन्दै अभिभावक गुमाएका संरक्षण गर्नुपर्ने बालबालिकाहरूको तथ्यांक स्थानिय तह हरुले मन्त्रालय वा परिषदमा उपलब्ध गराउन भनिएको छ ।
मन्त्रालय जारी गरेको सूचनामा स्थानीय तह हरुलाई सम्बन्धित बालबालिका जन्म दर्ता प्रमाण पत्र, मृतक अभिभावकको मृत्यु दर्ता प्रमाण पत्र वा नेपाली नागरिकताको प्रमाण पत्र, नाता सम्बन्ध खुल्ने प्रमाणित कागजात, कोभिड संक्रमणका कारण बाबुको मृत्यु भएको पुष्टि हुने कागजात, र सम्बन्धित स्थानीय तह वा विद्यालयको सिफारिस सहित जानकारी उपलब्ध गराउन आवहान गरिएको छ ।
स्थानीयस्तरमा काम गर्ने सामाजिक संघसंस्थाहरुले पनि स्थानीय तहहरु मार्फत यस्ता बालबालिकाको जानकारी मन्त्रालय वा परिषद्ले उपलब्ध गराउन सक्नेछन् । मन्त्रालयले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसाईं र राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम व्यवस्थापक नमुना भुसाललाई सम्पर्क व्यक्ति तोकेको छ ।