सोमबार ०८ पुस, २०८१

नेपाली समय

बालबालिकालाई महामारीको छायाले पछिसम्म सताउला ?

बालबालिकालाई महामारीको छायाले पछिसम्म सताउला ?

बालबालिकाको शैक्षिक सफलतादेखि सामाजिक कौशल र मानसिक स्वास्थ्यसम्ममा महामारी संकट बनेको छ। र, यसको परिणाम उनीहरुको बाँकी जीवनमा पनि देखिन सक्छ।

आजका बालबालिका र किशोर वयस्क हुँदा, के उनीहरुले आफूलाई ‘हराएको पुस्ता’ का रुपमा देख्लान, जसको जीवनलाई एउटा वैश्विक महामारीको छायाँले लखेटिरहेको होस्?

बालबालिकाका लागि विद्यालयहरु बन्द हुनु कोभिड–१९ को सबैभन्दा ठूलो प्रत्यक्ष असर हो। यूनेस्कोका अनुसार यसै कारण १९० देशमा करिब १.६ अर्ब विद्यार्थीको शिक्षा प्रभावित भएको छ। यो भनेको विश्वभरका विद्यालय जाने बालबालिकाको ९० प्रतिशत हो । र, यो लेख्दैगर्दा यिमध्ये आधा बालबालिकाको विद्यालय कहिले खुल्छ, ठेगान छैन।

कोरोना भाइरसको संक्रमणका कारण विद्यालयहरु बन्द भएपछि बालबालिकामा पर्ने वास्तविक असरबारे धेरै छलफल भएका छन्। तर, वुहानमा कोरोना भाइरस सुरु भएको पाँच महिनामात्रै भएको छ। यो घटना नयाँ भएकोले यसबाट परेको प्रभावको विश्लेषणका लागि तथ्यांकहरु अझै पर्याप्त छैनन्।

भाइरस अझै फैलिरहेकाले आगामी केही महिनासम्म बालबालिकाको दैनिक जीवन सामान्य अवस्थमा फर्कने देखिंदैन। क्वारेन्टिन र आइसोलेसनमा रहँदाको तनाव समेत थपिंदा बालबालिकामा यसका गम्भीर परिणाम देखिन सक्छन्।

उनीहरुको व्यवहारिक, भावनात्मक र सामाजिक विकासमा यसले नकारात्मक असर पुर्याउँछ। किशोरावस्थाको सबैभन्दा महत्वपूर्ण समयमा रहेकाहरुका लागि त यो अवस्थामा मानसिक समस्या आउने जोखिम पनि छ।

यसबाट सबैभन्दा प्रभावित गरीबहरु हुनेछन् र आउँदा दिनहरुमा असमनताको खाडल अझै बढेको देखिनेछ।

नटिङ्घम विश्वविद्यालयमा सार्वजनिक स्वास्थ्य र महामारी विज्ञानका प्राध्यापक रिचर्ड आर्मिटेज भन्छन्, ‘पहिलेदेखि नै वञ्चितिकरणमा परेका बालबालिकाले सबैभन्दा ठूलो मूल्य चुकाउनु पर्ने छ, किनभने उनीहरु अझ पछि पर्नेछन् र महामारीको खतरा टरेपछि छुटेका अवसर समात्न पनि उनीहरुलाई न्यूनतम साधनसम्मको पहुँच मुश्किल हुनेछ।’

बेल्जियमको ल्यूवेन विश्वविद्यालयका समाजशास्त्री विम वान ल्यानकर यसलाई ‘सामाजिक संंकट’ भन्छन्।

उसोभए, धेरै ढिलो हुनु अगावै यी समस्याको समाधानका लागि के गर्न सकिन्छ ? तथ्य के भन्छ?

लक्ष्य प्राप्तिमा अन्तर

पहिले बालबालिकाको बौद्धिक विकासमा पर्ने प्रभावबारे चर्चा गरौंं। अहिलेसम्म यति लामो समय विद्यालय बन्द भएका उदाहरण छैनन् । तर, प्रतिकूल मौषमका कारण छोटो अवधिका लागि विद्यालय बन्द हुँदा बालबालिकामा परेको असरबारे केही अध्ययन् भएका छन्, त्यसबाट केही सुराक पाउन सकिन्छ।

सन् २००७ मा वाशिङटन डीसीस्थित अमेरिकी विश्वविद्यालयमा सार्वजनिक मामिलाका प्राध्यापक डेभ मार्कोटले मेरिल्याण्डमा तेस्रो, पाँचौ र आठौंं ग्रेडका परीक्षाको परिणाम अध्ययन गरेका थिए।

अध्ययनमा विद्यालय बन्द हुनुको सबैभन्दा बढी प्रभाव सबैभन्दा कम उमेरका बालबालिकामा परेको थियो। कक्षामा जान नपाएको प्रत्येक दिनको परिणामस्वरुप पढाई र गणितमा ०.५७ प्रतिशत बालबालिकाले अपेक्षाभन्दा कम अंक ल्याएका थिए। प्रतिकुल मौषमका कारण औषतमा पाँच दिन विद्यालय जान नपाउँदा कुल उत्तीर्ण दरमा ३ प्रतिशतको ह्रास आएको थियो।

छोटो अवधिका लागि मात्रै विद्यालय शिक्षाबाट वञ्चित हुँदा बालबालिकामा यसको स्थायी प्रभाव पर्छ भने अहिलेको संकट त छुटेका कक्षाको पढाई दोहोर्याएर पुरा गरौंला भन्ने खालको छैन। अझ ठूलो चिन्ताको विषय के हो भने, लामो समय विद्यालयहरु बन्द रहँदा बालबालिकाले आफूले पहिल्यैदेखि जानी राखेको कुरा पनि विर्सन थाल्नेछन्– यसको परिपुरण निकै कठिन हुनेछ।

मार्कोट विद्यालयमा वर्षभर हुने बालविकासतर्फ संकेत गर्दैै भन्छन्, ‘अधिकांश बालबालिकाले वर्षभर नै सिकाईमा प्रगति गरिरहेका हुन्छन्। तर गर्मीको लामो विदामा कहिलेकाहीँ यो सिकाईमा ह्रास आएको पाइन्छ। गणित जस्ता विषयमा त अझ गम्भीर रुपमा । उनका अनुसार अमेरिकाका विद्यालयमा वर्षभर जे सिकाइन्छ त्यसको २५ प्रतिशत गर्मीको लामो विदामा बालबालिकाले विर्सिदिन्छन्।

आगामी भदौ अन्त्यसम्म पनि विद्यालयहरु खुलेनन् भने बालबालिका विद्यालयबाट टाढिएको २० हप्ता भन्दा बढी हुनेछ। शिक्षाक्षेत्रमा बालबालिकाले अनुभूत गरेको यो अभूतपूर्व अवधिका असरबारे अहिले उपलब्ध तथ्यांकका आधारमा अनुमान गर्न सकिंदैन।

‘यसबाट बालबालिकाको सिकाईमा पुग्ने क्षति सरल रेखामा उकालो लाग्ने मात्रै हो वा त्यो भन्दा ठूलो र जटिल समस्या आउने हो, अहिले भन्न सकिंदैन,’ मार्कोट भन्छन्।

शिक्षामा लगानी गरिएको समयले बयस्कको बौद्धिक स्तर (आईक्यू) लाई आकार दिन्छ भन्ने मान्ने हो भने यो बन्दाबन्दीको परिणामले अहिलेका बालबालिका वयस्क हुँदा उनीहरुको वौद्धिक स्तरमा गम्भीर प्रभाव पार्न सक्छ।

मार्कोट आशा गर्छन्, दूर शिक्षा (अनलाइन क्लास) को प्रयासले त्यो नोक्सानीलाई रोक्नमा सहयोग पुग्नेछ तर, यसले पूर्णरुपमा सहयोग पुर्याउनेमा उनी शंका व्यक्त गर्छन्। ‘वास्तविक संसारसँग जोडिनु, साथिहरुसँग समय विताउनु र कक्षा कोठामा रहेर पाठमा ध्यान केन्द्रित गर्नु भच्र्यूल कक्षामा भन्दा निकै फरक हुन्छ,’ उनी भन्छन्।

सबैभन्दा खराब स्थिति त के  हो भने, केही बालबालिकामा दूर शिक्षाको सिकाई विद्यालयमा ब्रेककका बेलाको सिकाईभन्दा पनि कम हुनसक्छ।

शिक्षक र साथीभाइसँगको सामिप्य, खेलकुद, पुस्तकालय र अन्य अतिरिक्त क्रियाकलाप जस्ता सिकाईका लागि आवश्यक गतिविधि विद्यालय बन्द हुँदा बालबालिकाका लागि उपलब्ध छैनन्।

विद्यालयमा सिकेका कुराको नियमित सुदृढिकरणका साथै सामान्य ज्ञान र दुनियाँप्रतिको बुझाईलाई विस्तार गर्ने अवसर बालबालिकाले पाइरहेका छैनन्।

असमानता बढ्छ

कोरोना संकट र बन्दाबन्दीबाट सबै बालबालिकाले एकै प्रकारले प्रभावित हुने छैनन्। विशेषज्ञहरुलाई डर छ, अहिलेको अवस्थाले धनी र गरीब परिवारका बालबालिकाको शैक्षिक उपलब्धिमा जुन असमानता अहिले छ, त्यो झन् फराकिलो भएर जानेछ।

उदाहरणका लागि अमेरिकामा गर्मीको विदाका बेला धनी परिवारका बालबालिकाको पढाईमा सुधार भएको पाइन्छ भने गरीब परिवारका बालबालिकामा विदाले नकारात्मक असर पारिरहेको हुन्छ। किनभने विदाका बेला गरीब बालबालिकामा शैक्षिक संसाधनको पहुँच पुग्दैन।

अहिले सरकारहरुले ‘होम स्कुलिङ’ (घरबाटै कक्षा) लाई प्रोत्साहित गर्ने प्रयास गरिरहेका छन् । यसका लागि राम्रो कम्प्युटर, भरपर्दो इन्टरनेट कनेक्सन, अनलाईन अध्यापनका लागि विद्यालयसँग पर्याप्त सामाग्री र बालबालिकालाई पढ्नका लागि शान्त कोठा जरुरी हुन्छ।

‘होम स्कुलिङ’ को मान्यता अनुसार अभिभावक स्वयम पनि शिक्षित हुनुपर्छ र बालबालिकालाई पाठमा मद्दत गर्न उनीहरुसँग पर्याप्त समय पनि हुनुपर्छ।

‘तर दुर्भाग्य, यो धारणा अनुसारको अवस्था सबैतिर छैन। यसको अर्थ हो बालबालिकाको शैक्षिक विकास विद्यालय बन्द भएपछि रोकिएको छ, विशेषगरी कमजोर पृष्ठभूमि भएका बालबालिकाको। र, यसले असमनातको खाडल झन फराकिलो बनाउने छ,’ आर्मिटेज भन्छन्।

बेलायतमा गरिएको एक अध्ययन अनुसार धनी परिवारका बालबालिकाले घरमा सिकाइको अवसर गरीब परिवारका बालबालिका भन्दा ३० प्रतिशत बढी पाउँछन्।

भरपर्दो इन्टरनेट कनेक्सन र अध्ययनका लागि शान्त कोठासम्मको पहुँच मात्रै पनि धेरै बालबालिकाका लागि उपलब्ध छैन। गरीब र सानो कोठामा बस्ने परिवारका लागि त यो असम्भव नै छ।

बालशिक्षासम्बन्धी विशेषज्ञ भ्यान ल्यांंकर भन्छन्, ‘हामीले लामो बन्दाबन्दीको सामना गरिरहेका छौं, यो अवधिमा वञ्चित समुदायका बालबालिकाले केही सिक्न पाएका छैनन्। जब विद्यालय पुनः सञ्चालन हुनेछन् त्यसबेला धनी र गरीब परिवारका बालबालिकाबीच असमानताको खाडल धेरै डरलाग्दो हुनेछ।’

बन्दाबन्दीले पहिलो पुस्ताका आप्रवासी बालबालिकामा फरक प्रतिकुल प्रभाव पार्न सक्छ, किनभने यि बालबालिकाले घर बाहिर दोस्रो भाषा सिक्ने र अभ्यास गर्ने अवसर पाइरहेका छैनन्।

विद्यालयहरु फेरि खुल्दा यि असमनाता अझ गाढा देखिनेछन्। बेलायतको इन्स्टिच्यूट फर फिस्कल स्टडिजले गरेको शोधमा गरिब परिवारका अभिभावक आफ्ना बालबालिकालाई फेरि तुरुन्तै विद्यालय पठाउनका लागि उत्साहित पनि छैनन्।

कोरोना भाइरसको संक्रमणबाट तुलनात्मक रुपमा गरिबहरु नै प्रभावित भएका कारण उनीहरु आफ्ना बालबालिका संक्रमणका बाहक नबनुन भनेर त्रस्त छन्।

भाइरसको आर्थिक प्रभावले गरिबी बढ्ने निश्चित छ। यदि यो प्रवर्धित वर्ग विभाजनलाई कम गर्ने प्रयास तुरुन्तै थालिएन भने यसले समाजलाई वर्षौ पछाडि धकेल्ने छ। ल्यांकर भन्छन्, ‘सानो उमेरमा परेको प्रभाव वयस्क हुँदा झन् बढदै जान्छ।’

मानसिक स्वास्थ्य

बन्दाबन्दीको नकारात्मक प्रभाव बालबालिकाको बौद्धिक विकासमा स्पष्ट रुपमा परे पनि यो मात्रै जोखिमको एकमात्र साधन होइन ।

बालबालिकाको गिर्दो मानसिक स्वास्थ्यबारे सुरुमा थाहा पाउने शिक्षकहरु नै हुन् र आवश्यक उपचारका लागि प्रोत्साहित गर्ने पनि उनीहरु नै हुन्। कतिपय विद्यालय आफैंले पनि मनोपरामर्श दिने व्यवस्था गरेका हुन्छन्।

अमेरिका जस्ता देशमा त करिब १३ प्रतिशत किशोरकिशोरीले विद्यालयमै मानसिक स्वास्थ्य सेवा प्राप्त गर्छन्। अमेरिकामा मानसिक स्वास्थ्य सेवा लिने कुल किशोरकिशोरीमध्ये ३५ प्रतिशतका लागि त स्कुलहरु मात्र सहयोगी र समस्या समाधानका विकल्प हुन्।

बालबालिकासँग नियमित सम्पर्क नहुँदा शिक्षक र परमार्शदाताले पनि दुव्र्यवहारका शंकास्पद घटनाहरुको रिपोर्ट गर्न सकेका छैनन्।
‘किनभने केही बालबालिकाका लागि घर नै अप्रिय, अवान्छनीय र असुरक्षित स्थान भैदिन्छ। यस्तोमा विद्यालयले नै उनीहरुलाई आश्रय प्रदान गरेको हुन्छ,’ आर्मिटेज भन्छन्।

आफ्नो समस्या शिक्षक वा साथीलाई भन्ने अवसरबाट पनि बालबालिका वञ्चित हुन पुगेका छन्।

दुखद सत्य के पनि हो भने महामारीका बेला बालाबालिकामाथिको घरेलू दुव्र्यवहार बढेको छ। महामारीका कारण धेरै अपराध लुकेका छन्।

किशोरावस्थालाई मानसिक स्वास्थ्यको विकास र उपचारका लागि महत्वपूर्ण अवधि मानिन्छ। अहिले समस्याको समाधान भएन वयस्क भएपछि समस्या झन् झन् बल्झिंंदै जान्छ।

कमजोर विकास

विश्वभर नै संंक्रमणको त्रास, बन्दबन्दीको मानसिक प्रभाव, रोजागारी गुम्दा भएको क्षति, आर्थिक अभाव आदि कारणले अभिभावकहरुको व्यवहार फेरिएको छ। यसप्रति बालबालिका अत्यधिक संंवेदनशील हुन्छन् र यसको प्रभाव बालबालिकाको मानसिकतामा अझ गहिरो पर्छ।

अक्सफोर्ड विश्वविद्यालयको मनोरोग विभागले गरेको एक शोध अनुसार धेरै जसो बालबालिका यस्ता कुरामा आफूलाई नै दोषि ठान्न थाल्छन्। कुनै पनि उमेरका बालबालिका र किशोरकिशोरीका लागि आफ्नो स्वतन्त्रता गुमाउनु, अनिश्चयमा रहनु भनेको उनीहरुमा लामो समयसम्म व्यवहारिक समस्या देखिनु हो।

अक्सफोर्ड विश्वविद्यालयको मनोरोग विभागका शोधार्थी डाल्टन रेपा भन्छिन्, ‘अभिभावकलाई बालबालिकाका यस्ता मुद्दा समाधानका बारेमा सिकाइएको छैन। उनीहरुको भावनात्मक आवश्यकतालाई पूरै बेवास्ता गरिएको छ।’

बालबालिकालाई कोरोना भाइरस संक्रमणको शारीरिक प्रभाव र संक्रमणबाट बच्ने बारे सरकारी अभियानमा पर्याप्तमात्रामा सिकाइएको छ। तर, उनीहरुलाई अहिलेको अवस्थाबारे कसरी कुरा गर्ने र अभिभावकले बालबालिकाको भावनात्मक आवश्यकताको पूर्ति कसरी गर्ने भन्ने सिकाइएको छैन।

शारीरिक दूरी र एकान्तवासले भावनामाथिको नियन्त्रण, आत्म संयमकोे अभ्यास र साथीहरुसँगको द्वन्द्व निवारण जस्ता सामाजिक–भावनात्मक सीप विकासलाई कसरी प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन।

तर, बालबालिकालाई परिपक्व बनाउनका लागि बेलैमा शिक्षा आवश्यक छ भन्ने त प्रमाणित भइसकेको छ। यस्तो आवश्यकता अझ ती बालबालिकालाई बढी हुन्छ जसका अभिभावकले घरमै यस्तो अभ्यास गर्दैनन्। यस्तो विकासमा जति ढिलो भयो बालबालिकाको समग्र विकासमा उती नै ढिलाई हुन्छ।

सामान्य अवस्थामा धेरै भाइबैनी भएका परिवारका बालबालिकामा सामाजिक सीपको विकास तीव्र हुन्छ। त्यसैले बन्दाबन्दीको प्रभाव एक्लो बच्चामा धेरै पर्नसक्छ । (यद्यपि, एक्लो बच्चाका लागि अभिभावकले होम स्कुलिङमा झन् धेरै सहयोग गरेका पनि हुनसक्छन्।)

‘हामीसँग इतिहासको त्यस्तो अनुभव पनि छैन ता कि त्यसतर्फ हेरेर सिक्न सकियोस,’ अर्का विशेषज्ञ गालबस्र्टिन भन्छन्, ‘तर बालबालिका आफ्नो वातावरणप्रति संवेदनशील र प्रतिक्रियात्मक हुन्छन्। र, जीवनको सुरुआतमै ब्यहोरेको तनावले बाल विकास, मानिसक स्वास्थ्य र मानव पुँजी विकासमा प्रभाव पार्छ। त्यसैले म चिन्तित छु।’

उत्तर सजिलो छैन

बालबालिकाका यि मुद्दाहरुको कुनै सजिलो समाधान छैन । शिक्षामा व्यापक असमानता रोक्नका लागि, शिक्षकहरुलाई सुविधा र विकल्प प्रदान गरिनु जरुरी छ। उदाहरणका लागि उनीहरुलाई कम्प्युटर, इन्टरनेट जस्ता सुविधा चाहिन्छ। भ्यान ल्यांकर भन्छन्, ‘बालबालिकाले वञ्चित परिस्थितिमा पनि आफ्नो गृह कार्य गर्न सक्षम होउन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ।’

सरकारहरुले घुम्ती पुस्तकालय जस्ता योजना पनि लागू गर्न सक्छन्। यि सामान्य कुराहरु हुन् तर बालबालिको सिकाइलाई कायम राख्नका लागि यस्तै साना कुरा पनि महत्वपूर्ण हुन्छन्।

दीर्घकालमा विद्यालयमा ती बालबालिकालाई बढी ध्यान दिनुपर्ने आवश्यकता हुनेछ जो यो संकटबाट सबैभन्दा धेरै प्रभावित भएका छन्।

अभिभावकहरुले आफ्ना बालबालिकासँग खुला र इमान्दाररुपमा कुरा गर्नु जरुरी छ– महामारीका कारण परिवारले अनुभूत गरेका विविध विषयमा। बालबालिका अगाडि बहादुर र केही नभए झैं प्रस्तुत हुने धेरैको चाहना हुनसक्छ तर, अन्तरनिहित तनावलाई बेवास्ता गर्नु उपयुक्त हुँदैन। बालबालिकाले त्यो बुझिसकेका हुन्छन्।

त्यसैले रेपा र डाल्टनले बालबालिकासँग कसरी कुरा गर्ने भन्नेबारे एउटा भिडियो बनाएका छन्, जुन अभिभावकहरुका लागि सहयोगी हुनसक्छ। रेपा भन्छिन्, ‘जब सबैले खुलस्त कुरा गर्न सुरु गर्छन्, अवस्था सुधारिदै जान्छ।’

अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, मनोचिकित्सक र राजनीतिज्ञको ठोस प्रयासबाट मात्रै हामी कोभिड–१९ ले विश्वमा सबै वर्गका बालबालिकालाई यो संकटबाट अघि बढ्न सक्षम बनाउनसक्छौं।

 

डेभिड रब्सनले बीबीसी फ्युचरमा लेखेका छन् ।