फूल फुल्नु अघि कोपिला बन्दछ । कोपिलाहरूलाई फूलको बाल्यकालीन उदाहरणका रूपमा लिन सकिन्छ । हैन र ? जसरी हरेक फूलहरू कोपिला भएर आएका हुन्छन् । त्यसैगरी हरेक मानव फूलहरू पनि कोपिला अर्थात् बाल्यकालबाट गुज्रिएकै हुन्छन् ।
बाल्यकालको यस्तै महत्वपूर्ण अनि मीठो यादहरूका कारणले होला एकजना फारसी कविले लेखिदिए,
यो सम्पत्ति नि लैजाऊ
यो नाम अनि सम्मान पनि लैजाऊ
तर मलाई फर्काईदेउ त्यो बालापनको श्रावण
त्यो कागजको ढुङ्गा अनि त्यो बर्खाको बलेसीको पानी
तर सबैको बालपन मीठो नहुन पनि सक्छ । अन्याय अत्याचार अनि युद्ध–अपराध आदिजस्ता विभिन्न कारणले बालबालिकाका अधिकार अनि मीठो बालापन तुहिइरहेको छ । अर्कोतर्फ यस्ता निर्दोष कलिला बालबालिकाहरूमाथि हिंसा र अत्याचारका घटनाहरू पनि भइरहेको छ ।
हरेक मानव फूलका कोपिलारूपी बालबालिकाहरू अनि तिन्को सुरक्षा, सम्बर्धन अनि अधिकार आजको विश्वले सहज प्रत्याभूत गर्नुपर्ने कुराहरू हुन् ।
हरेक वर्षको जून ४ गते संयुक्त राष्ट्रसंघको आब्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस कार्यक्रमहरू गरी मनाइन्छ ।
विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरूको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्रसंघको बालअधिकारप्रतिको प्रतिवद्धताको पनि आज चर्चा गरिन्छ ।
बालबालिकाका लागि कार्यरत विश्वब्यापी संस्थाहरू, सरकारहरू, सद्भावना राजदूतहरू, मिडिया अनि तपाई–हामी जस्ता थुप्रै सरोकारवालाहरू मिलेर विभिन्न तवरले आजको दिन मनाइन्छ । नेपालमा बालबालिकाका अधिकार र ममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ?
माइक्रो बसमा कार्यरत बालबालिकाहरूले ढोका ठटाउँदा खुरुक्क गएर सिटमा बस्न सक्ने हामीहरूले त्यही सिटमा बसेर उनीहरूको भविष्य अनि समानताका लागि सोच्न सकेका छौँ त ?
बालअधिकार राजनीतिक विषय होइन, नितान्त सामाजिक पृष्ठभूमिमा सामाजिक अभियन्ताहरूमार्फत् समाधान गर्न सकिने यी कुराहरूमा हामी जागरुक हुन जरुरी छ ।
बालअधिकार क्लबहरूको गठन अनि सक्रियताले स्थानीयस्तरमा बालअधिकार अनि बालबालिकामाथि हुने अन्यायविरुद्ध उनीहरूवाटै आवाज उठ्न थालेको छ, जुन अत्यन्त राम्रो प्रगतिको कुरा हो ।
बालबालिकाको हृदयलाई निष्कलङ्क अनि निर्दोष कुराको बिम्बका रूपमा पनि व्याख्या गरिन्छ । वास्तवमै संसारमै तिनीहरू भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र ?
यस पृथ्वीका हरेक बालबालिकाले मुक्त कण्ठले हाँस्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकून् । उनीहरूमाथि अत्याचार र अन्याय नहेस् र अपराधीहरूलाई हदैसम्मको कारबाही होस् ।
यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि ‘से यस टु चिल्ड्रेन’ अर्थात् ‘बालबालिकालाई हुन्छ भनौ’ भन्ने अभियान पनि चलाइएको छ ।
संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत् विभिन्न तवरले आआफ्ना समाजबाट बालअधिकारप्रति आफ्नो ऐक्यवद्धता जनाउँछन् । बालबालिकाको अधिकार र बालमैत्री वातावरणका लागि हामी सबै सँगै छौँ नि, हैन र ?
हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पार्नुभएको सामाग्रि ।