सोमबार ०८ पुस, २०८१

नेपाली समय

बालअधिकारको क्षेत्रमा पहिलो पटक सिमान्तकृत यौन अभिमुखिकरण , लैङ्गिक पहिचान तथा यौन विशेषताका बालबच्चाका सवालमा सुझाव पेस

बालअधिकारको क्षेत्रमा पहिलो पटक सिमान्तकृत यौन अभिमुखिकरण , लैङ्गिक पहिचान तथा यौन विशेषताका बालबच्चाका सवालमा सुझाव पेस

“प्रत्येक बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न सक्ने सक्षम परिवार, सहयोगी समुदाय, सबल राज्य प्रणाली सहीतको बालमैत्री देशको निर्माण गर्ने ” लक्ष्यकासाथ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तयार पारेको राष्ट्रिय बालअधिकार नीति २०७८ को पहिलो मस्यौदा माथि विभिन्न सरोकारवालाहरुले सुझाव पेस गरिरहेका छन् ।

बिहिबार एक अन्लाईन कार्यक्रमका बिच बालअधिकारको इतिहासमा नेपालमा नै पहिलोपटक लैंगिक तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने विभिन्न नागरिक संस्थाहरूले एकीकृत रुपमा सिमान्तकृत यौन अभिमुखिकरण , लैङ्गिक पहिचान तथा यौन विशेषताका बालबच्चाका सवालमा राष्ट्रिय बालअधिकार नीति २०७८ को सुझाव राष्ट्रिय बालअधिकार परिषदलाई गरेका छन् ।

क्यापेन फर चेन्ज, क्वयेर डिसेबल, अयौनिक नेपाली, निल हिरा समाज, क्वयेर युथ ग्रुप, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपाल र हामी दाजुभाई संस्थाहरुले संयुक्त रुपमा हाल तयार गरिएको नीतिमा रहेको सुधार गर्नुपर्ने र थप गर्नुपर्ने कुराहरु बुँदागत रुपमा राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेललाई बुझाएका छन् ।

संस्थाहरुले नीतिलाई ४ समुहमा विभाजन गरेर माग सम्बोधन गर्न अनुरोध गरेका छन् । संस्थाहरुले विभाजन गरेको ४ समुहमा अन्तरलिङ्गी, पारलैङ्गिक, गैर- द्वयसांखिक तथा तेस्रो लिङ्गी र विविध यौन अभिमुखीकरण भएका बालबच्चा रहेका छन् ।

कार्यक्रममा सुझाव ग्रहण गर्दै राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धारेलले नीतिको मस्यौदा समितिमा आफुले यि सुझावहरू लैजाने र सम्बोधन गर्ने प्रयास गर्ने बताउनुभएको थियो । राष्ट्रिय बालअधिकार परिषद्ले सबै बालबालिकाको समग्र हितको लागि काम गरिरहँदा बहिष्करणमा परेका यी समूहहरूको सवालहरूलाई उठाइदिएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । यि सुझावले नीति मस्यौदा समितिलाई समावेशी नीति बनाउन सहयोग पुग्ने आशा गरिएको छ ।

कार्यक्रममा क्यापेन फर चेन्जका ईसान रेग्मीले नीतिको वर्तमान अवस्था र सुधार गर्नुपर्ने अवस्थाको प्रस्तुतिकरण गर्नुभएको थियो । यस्तै हामी दाजुका विवेक मगरले राष्ट्रिय बालअधिकार परिषद्ले यी सवालहरूलाई सम्बोधन गर्दै बालबालिका ऐनमा समेत आवश्यक संशोधनको प्रयास गर्ने समेत आग्रह गर्नुभएको थियो ।