कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नको लागि बालमैत्री अभियान तिब्र गतिमा अगाडि बढेको छ । कावासोती नगरपालिकाको सभाहलमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनः ले नगरका सम्पुर्ण वडाहरुलाई बालमैत्री बनाउन आवश्यक पूर्वाधार निर्माण गरी अनुगमन समेत गरिने बताउनुभयो ।
छलफल कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाध्यक्षहरु, , कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा नगरको हालसम्मको अवस्था तथा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा छलफल गरी योजना समेत निर्माण गरिएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बालमैत्रीको अवधारणा तथा सूचकको बारेमा सहजीकरण गर्नुभएको थियो । केही वडाहरुलाई बालमैत्री पूर्ण वडाको रुपमा घोषणा गरी दिगो विकासको लागि अघि बढ्ने उप प्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो ।
बालमैत्री सम्पुर्ण सूचक पुरा गर्दै बालमैत्री नगरपालिका हुने अभियानमा कावासोती नगरपालिका रहेको र यसले छिट्टै नै मुर्तरुप पाउने नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताउनुभयो ।
नेपाल सरकारले २०६८ मा जारी गरेको बालमैत्री कार्यविधिमा ३९ सूचक पुरा भए बालमैत्री पालिका घोषणा गर्न सकिने प्रावधान रहेकोमा २०७८ मा सो कार्यविधिलाई संसोधन गरी ५१ सूचक राखिएको छ । जसभित्र बाल बचाउमा १४ सूचक, बाल संरक्षणमा १० सूचक, बाल विकासमा ६ सूचक र बाल सहभागितामा ६ सूचक रहने गरी ३६ सेवासम्बन्धि सूचक र १५ संस्थागत सूचक रहने गरी निर्माण गरिएको छ ।