एक बच्चा छन्, जिद्दी स्वभावका । शिक्षक एवं आमाबुवाको अगाडि उनी कमजोर बच्चा हुन् । पढाइमा ध्यान छैन । राम्ररी लेखपढ गर्न जान्दैनन् । आज्ञाकारी छैनन् । ज्ञानी छैनन् । सुत्ने, उठ्ने कुनै निश्चित समय छैन ।
उनी आफ्नै दुनियामा मग्न हुन्छन् । कक्षा कोठामा पढिरहँदा होस् वा घरमा खाना खाइरहेको बेला, उनी कल्पनाको दुनियामा सयर गर्न पुग्छन् ।
उनलाई आफ्नै पर्वाह छैन । कहिले हिलोमा खेल्छन्, कहिले पानीमा ।
बच्चाको यस्तो स्वभावप्रति आमाबुवा चिन्तित एवं दुःखी छन् । उनीहरु छोराले राम्ररी नपढेकोमा, राम्रो नतिजा हासिल नगरेकोमा, खेलकुद जस्ता अतिरिक्त गतिविधिमा सहभागी नभएकोमा खिन्न छन् । आखिर विद्यालयले पनि उक्त बच्चालाई पढाउन रुची राख्दैन ।
आमाबुवाले अब बच्चालाई विशेषकक्षामा भर्ना गरिदिन्छन् । आमाबुबाबाट अलग राखेर । एकातिर आफु लेखपढ गर्न नजान्ने भन्ने कुराको वोध, अर्कोतिर आमाबुबासँग विछोडिनु पर्दाको पीडा । दुबै खेपेर बसेका उनको मनोविज्ञान एक आर्ट शिक्षकले बुझ्छन् । अरुले सुस्त मनस्थितीको भनेर हेय दृष्टि राखिरहेका बच्चाभित्र के खुबी छ भनेर खोतल्ने काम गर्छन् ।
अन्ततः उक्त बच्चामा बेजोड कल्पनाशिलता र त्यसलाई कलात्मक रुपले क्यानभासमा उतार्न सक्ने खुबी पाउँछ । त्यही कुरामा बढाव दिन्छन् । बच्चा मन्दबुद्धीका नभई असाधरण प्रतिभाशाली निस्कन्छन् ।
१४ बर्षअघि प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘तारे जमिन पर’को सार हो यो । आमिर खान निर्देशित चलचित्रले एउटै कुरा प्रष्ट पार्छ, ‘कोही बच्चा जन्मजात कमजोर हुँदैनन् । हरेक आफैमा विशेष हुन्छन् ।’
बच्चाहरु सबै एकनास हुँदैनन् । तर, हामी बच्चालाई तुलना गरेर सक्षम वा असक्षम भनी कित्ताकाट गरिदिन्छौं । खासगरी बच्चाको पढाई, परीक्षामा हासिल गर्ने अंक आदिलाई हेरेर उनीहरुको क्षमताको मूल्यांकन गर्छौं । तर, पढाई वा परीक्षाले मात्र बच्चाको समग्र क्षमताको मूल्यांकन हुँदैन ।
बच्चाहरु फरक स्वभाव, प्रवृत्ति, खुबीका हुन्छन् । उनीहरुको रुची, इच्छा, क्षमता पनि आपसमा मिल्दैन । तर, हामी उनीहरुलाई एउटै तराजुमा राखेर तौलने गर्छौं ।
बच्चाको खुबी के हो रु रुची के हो रु हामी बुझ्ने कोसिस गर्दैनौं । उनीहरु के चाहन्छन्, के जान्दछन्, खोज्ने प्रयास गर्दैनौं । हामीले आफ्नो इच्छा अनुसार उनीहरुलाई डोहो¥याउने प्रयास गर्छौं । हामीले आफ्नो आकंक्षा उनीहरुमाथि लाद्ने गर्छौं ।
हरेक बच्चासँग कुनै न कुनै जन्मजात खुबी हुन्छ । उनीहरुको खुबी के हो भनी पहिचान गरेर सोही अनुसार सही मार्गदर्शन गर्नुपर्ने हुन्छ । तर, हामी उनीहरुको मनोविज्ञान बुझ्ने भन्दा पनि अरुसँग तुलना गरेर हेर्न थाल्छौं । फलानोको छोरा–छोरी यस्ता छन् भनेर आफ्नो बच्चासँग तुलना गरिदिन्छौं । यसले उनीहरुको खुबी एवं क्षमताले फल्न–फुल्न त पाउँदैन नै उनीहरुको मनोवल पनि कमजोर हुँदै जान्छ ।
हामीले सोचेजस्तै सबै बच्चा पढाईमा तगडा नहुन सक्छन् । पढाएको कुरा सहजै ग्रहण गर्ने क्षमता नहुन सक्छ । सबैसँग खुलेर बोल्न, हास्ने स्वभाव नहुन सक्छ । चलाख नहुन सक्छन् । खेलकुद, नाचगान आदिमा सहभागी नहुन सक्छ । यही आधारमा कुनैपनि बच्चालाई कमजोर भन्नु उचित हुँदैन ।
एक सर्वेका अनुसार हरेक १० बच्चामा एक बच्चामा कुनै न कुनै किसिमको असक्षमता हुन्छ । कति मानसिक रुपले त कति शारीरिक रुपले । गर्भावस्थामा उचित पोषण एवं रेखदेखको अभावले पनि बच्चाले जन्मजात कुनै समस्या लिएर आउँछन् ।
कति स्पष्ट देख्न सक्दैनन्, कति बोल्न सक्दैनन्, कति कान सुन्दैनन्, कतिको स्मरण क्षमता कमजोर हुन्छ । यस किसिमको बच्चाहरुलाई सही रेखदेख र उचित मार्गदर्शनको खाँचो हुन्छ ।
मानसिक रुपले कमजोर बच्चालाई मौका दिइयो भने उनको प्रतिभाको विकास हुने मनोविज्ञहरुको दावी छ ।