सोमबार ०८ पुस, २०८१

नेपाली समय

तपाईको बच्चालाई भन्नुहोस्, दुनिया त्यती खराब पनि छैन !

तपाईको बच्चालाई भन्नुहोस्, दुनिया त्यती खराब पनि छैन !

‘लौ बर्बाद भयो, सबै खत्तम भयो’ हामी यस्तै भनिरहेका हुन्छौं । हाम्रो कुरा सुनेर बालबालिका के सोच्दा हुन् ?

सबै बर्बाद नै पो भएछ ।

हामी बारम्बार भनिरहेका हुन्छौं, ‘यहाँ बस्नै नसकिने भयो । केही गर्नै नसकिने भयो ।’ हाम्रो कुरा सुनेर बालबालिका के सोच्दा हुन् र ?

समाजमा विकृति छ । विसंगति छ । कुरीति छ । कुशासन छ । आडम्बर र ढोंग छ । दिनदिनै बलात्कार हुन्छ । दिनदिनै हत्या हुन्छ । चोरी-डकैती हुन्छ । अपहरण हुन्छ । भ्रष्टचार हुन्छ । ठगी हुन्छ । प्रदूषण बढेको छ । महंगी बढेको छ ।

खाद्यन्न विषाक्त भएको छ । अन्न उत्पादन घटेको छ । पर्यावरण दूषित हुँदैछ । जलवायु परिवर्तनको तिब्र असर देखिदैछ ।

यावत् विकार र विसंगतिले हाम्रो तनाव बढाइदिएको छ । हामी आफु बाँचेकै युगसँग, आफु उभिएकै धर्तीसँग, आफु हुर्किएको समयसँगै गुनासो गरिरहेका छौं । हामी समाजलाई गाली गरिरहेका छौं । हामी समयलाई गाली गरिरहेका छौं । मुलुकलाई गाली गरिरहेका छौं । हामी भनिरहेका छौं, ‘सबै खत्तम छ, सबै खराब छ ।’

हामी चिच्याइरहेका छौं, ‘व्यापारीले विषाक्त तरकारी बेचे ।’ तर, हामी आफैं खनजोत गर्न, खेती किसानी गर्न चाहँदैनौं । आफ्नै पाखुरीले अन्न, सागपात उत्पादन गर्न जाँगर चलाउँदैनौं । कम्तीमा करेसाबारी, बार्दली, छतमा पनि त सागसब्जी उत्पादन गर्न सकिन्छ । तर, हामीलाई यस्तो काम ‘झिानामसिना’ र ‘अनुत्पादक’ लाग्छ । आफै उत्पादन गर्दैनौं र अरुलाई गाली गर्छौं, ‘मैले खाने तरकारीमा विषाक्ता बनाइदियौं ।’

हामलाई अहिले गुनासो र गाली गर्ने बानी परेको छ । हामी सबैतिर अन्धकार देख्न थालेका छौं । सबै खराब देख्न थालेका छौं ।

तर, दुनिया त्यती खराब पनि छैन, जति हामी भन्ने गर्छौं । युग त्यती खराब पनि छैन, जति हामीलाई लागिरहेको छ । कम्तीमा हामीले हुर्कदै गरेको नयाँ पुस्तालाई निरास बनाउने काम नगरौं । उनीहरुलाई भयभीत र आतंकित बनाउने काम नगरौं । उनीहरुलाई शसंकित र उदास बनाउने काम नगरौं ।

संसार सुन्दर छ

बालबच्चालाई भनौं कि, संसार सुन्दर छ । संसार अनन्त संभावनाले भरिएको छ । संसारमा सुख र खुसीको ठूलो स्रोत छ । संसारमा दयालु, सहयोगी मान्छेहरु छन् । संसारमा सूचना-प्रविधिले लोभलाग्दो फड्को मारेको छ ।

बालबच्चालाई भनौं कि, तिमीले बाँच्ने संसार प्रेममय र समझदार छ ।

अब हुर्कने बालबच्चा निरास, उदास, भयभीत नहोस् । उनीहरुले संसारलाई यस्तो देखोस् कि, जहाँ खुसी र उमंग छ । अवसर र संभावना छ । मेलमिलाप र सहयोग छ ।

वास्तवमा हामीले देखेको जस्तो संसार खराब मात्र छैन ।

तपाईंलाई आपत-विपत पर्दा सहयोग गर्नेहरु छन् । तपाईंलाई दुःख पर्दा खुसी दिनेहरु छन् । तपाईंलाई अभाव हुँदा सर-सापट दिनेहरु छन् । तपाईंको उन्नती, प्रगतिमा रमाउनेहरु छन् । तपाईंको मन र इच्छा बुझ्नेहरु छन् ।

सहयोगी छन्, सदाचारी छन्, सहृदयी छन्, समझदार छन् । जति खराब छन्, त्यो भन्दा बढी गुणी मान्छेहरु छन् । आफ्नो बालबच्चालाई भन्नुहोस् कि, संसार तिमीले खोजेजस्तै सुन्दर छ ।