सिन्धुलीकी १९ वर्षे बालिका प्रमिला स्याङतेन एक दिनका लागि राष्ट्रिय बाल अधिकार परिषद्को सदस्य सचिव बनेकी छन् । ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ का अवसरमा ‘गर्ल्स टेकओभर’ अभियानको पहिलो चरणमा आज राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले आफ्नो भूमिकामा एक दिनका लागि सिन्धुलीको मरिण गाउँपालिकाकी १९ वर्षे किशोरी प्रमिलालाई नेतृत्व प्रदान गरेकी हुन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको शुभकामनासहित पद हस्तान्तरण गरेकी सचिव ढकालले गर्ल्स टेक ओभरजस्तो अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिका अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने बताइन् ।
उनले भनिन्, ‘हाम्रो जस्तो पुरुषप्रधान समाजमा बालिका हुनु अभिशाप नै हो जस्तो लाग्छ । महिला तथा बालिकाको हक अधिकारको बारेमा जति नै सुकै स्तरमा छलफल गरे पनि, कानुन बने पनि त्यसको कार्यन्वयन पक्ष निकै फितलो रहेको छ । यद्यपि अहिले धेरै महिलाले नेतृत्वदायी भूमिकामा आइरहनु भएको छ । गर्ल्स टेक ओभरजस्तो अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिकाहरू अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने छ ।’
एक दिनका लागि सदस्य सचिवको बनेकी किशोरीले आफूलाई सदस्य सचिवको कुर्सीमा बस्दा गौरवान्वित महसुस भएको बताइन् । उनले भनिन्, ‘मलाई यो कुर्सीमा बस्दा निकै गौरवान्वित गर्व महसुस भइरहेको छ । बालिका भएर पनि हामी अरूभन्दा कम छैनौँ । अवसर पायौँ भने अरू सरह अगाडि बढ्न सक्छौँ भनेर नै आज मा यहाँ आएको छु ।’
पद ग्रहण गरेसँगै किशोरीले भोग्नुपर्ने अनलाइन उत्पीडन, बालिकालाई लक्षित स्थानीय सरकारको भूमिकालगायतको किशोरी तथा बालिका सम्बन्धी थुप्रै विषय छलफल पनि गरिन् । साथै ७५३ वटै स्थानीय तहमा अविलम्ब स्थानीय बालअधिकार समितिको गठनका लागि समन्वय गर्न पनि आग्रह गरिन् । विभिन्न जिल्लाका किशोरी मिली तयार पारिएको नौं बुँदे ज्ञापन पत्र १७ वर्षे किशोरी गरिमा थापाले परिषद्का सदस्य सचिवलाई हस्तान्तरण गरेकी छन् ।
के हो गर्ल्स टेक ओभर अभियान ?
बाल अधिकार त्यसमा पनि विशेषतः बालिकालाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजसँगको हातेमालोमा हामी दाजुभाइ संस्थाको प्राविधिक सहयोगमा विगत झैं यस वर्ष पनि संघीय र जिल्लास्तरमा अभियानलाई निरन्तरता दिएको छ ।
यस वर्ष संघीयस्तरका संघसंस्थाका साथसाथै जुम्ला, कालिकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, सघंसंस्था, मिडिया, दुताबास, शैक्षिक संस्था लगायतमा प्रमूख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिने छ ।यस बाहेक, गर्ल्स टेक ओभर आज तथा भोलि अर्थात अक्टोबर १२ देशभरका ९ जिल्लामा १०० जना किशोरीले विभिन्न संस्थामा १०० पदको नेतृत्व लिइ रहेका छन् । पदभार ग्रहण कार्यक्रम ११ अक्टोबर २०२२ बाट सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका विभागिय प्रमुख, प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, नेपाल पत्रकार महासंघको प्रमुख लगायतको भूमिकामा एक दिनका लागि विभिन्न जिल्लाहरूबाट आएका किशोरीहरूले नेतृत्व हस्तान्तरण भएको छ ।