बच्चा स्वस्थ भएमा उनको उमेर अनुसार उनीहरुको निश्चित तौल र उचाइ हुनेगर्छ । यदि उमेर अनुसार तौल र उचाइ घटबढ भएमा बच्चामा कुनै स्वास्थ्यमा कुनै समस्या छ कि भनेर शंका गर्न सकिन्छ । अतः कुन उमेरको बच्चाको तौल र उचाइ कति हुनुपर्छ रु के कारणले उनीहरुको तौल र उचाइ असन्तुलित हुन्छ ?
बच्चाहरूको तौल र उचाइ उनीहरूको उमेर अनुसार छ भने बच्चा स्वस्थ र उनीहरुले पाउने आहार राम्रो छ भन्ने बुझ्न सकिन्छ । बच्चाहरु बढ्दै जाँदा उमेर र तौल बढ्नु सामान्य र जरुरी प्रक्रिया हो । उमेर अनुसार बालबालिकाको उचाइ र तौलको विकास भैरहेको छैन भने कतै केहि त कमी छ भन्ने बुझ्नुपर्ने हुन्छ । यसका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।
नवजात शिशुको सही तौल ?
कुनैपनि शिशु जन्मनसाथ तौल लिन गरिन्छ । सामान्यत ३ किलोको शिशुलाई स्वस्थ मानिन्छ । यसमा पनि छोरा र छोरीको तौल केही फरक हुनसक्छ । छोराको ३ दशमलव ३ किलो र छोरी ३ दशमलव २ किलो भएको राम्रो हो ।
१ वर्ष देखि १० वर्षसम्मको उमेर औसत तौल र उचाइ
१ वर्ष
१ वर्षमा बच्चाको तौल ९ दशमलव २ किलो ग्राम र उचाइ २९ दशमलव २ इन्चको सेरोफेरोमा हुनु स्वस्थ मानिन्छ ।
२ वर्ष
दुई वर्षको बच्चाको तौल बच्चा १२ किलो हुनुपर्ने र लगभग उचाइ ३३ दशमलव ५ इन्च हुनुपर्ने हुन्छ ।
३ वर्ष
३ वर्षको बच्चाको तौल १४ दशमवल २ किलोग्राम हुनुपर्छ । यसैगरी उनीहरुको औसत उचाई ३७ इन्च हुनुपर्छ ।
४ वर्ष
४ वर्षको बच्चा छ भने उनको तौल १५ दशमलव ४ किलोग्राम हुनुपर्छ । उचाई लगभग ३९ दशमलव ५ इन्च हुनुपर्छ ।
५ वर्ष
५ वर्षको बच्चाको तौल लगभग १७ दशमवल ९ किलोग्राम हुनुपर्छ । यो उमेरमा बच्चाको उचाई औसत ४२ दशमलव ५ इन्च हुनुपर्छ ।
६ वर्ष
६ वर्षको बच्चाको तौल १९ दशमलव ९ किलोग्राम हुनुपर्छ । लगभग उचाइ ४५ दशमलव ५ इन्च हुनु राम्रो हो ।
७ वर्ष
७ बर्षको बच्चाको तौल २२ दशमलव ४ किलोग्रामको आसपासमा भएको राम्रो । उनको उचाई ४७ दशमलव ७ इन्च भएको उचित हुन्छ ।
८ वर्ष
८ वर्ष उमेर पुगेको बच्चाको तौल लगभग २५ दशमलव ८ किलोग्राम हुनुपर्छ । उनको उचाई ५० दशमलव ५ इन्च आसपासमा हुनुपर्छ ।
९ वर्ष
९ वर्षको बच्चाको तौल लगभग २८ दशमलव १ किलोग्राम हुनुपर्छ । उमेर अनुसार उनको उचाई ५२ दशमलव २ इन्च हुनुपर्छ ।
१० वर्ष
१० वर्षको उमेरमा बच्चाको तौल ३१ दशमलव ९ किलोग्राम उत्तम मानिन्छ । उनको उचाई ५४ दशमलव ५ इन्च भएको राम्रो ।
बच्चाको स्वभाविक वृद्धि विकास
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शिशु जन्मँदाको उचाई कम्तीमा ४५ देखि ५० सेमी र तौल २ दशमलव ५ देखि ३ दशमलव ४ केजी हुनुपर्छ ।
त्यस्तै, शिशुको उमेर १ वर्ष पुग्दा २५ सेमी र तौल २ दशमलव ५ केजी, दोस्रो वर्षमा १२ दशमलव ५ सेमी र तौल २ दशमलव ५ केजी थप हुनुपर्दछ । तेस्रो, चौथो र पाँचौ वर्षमा ७ देखि ९ सेमी हुँदै वृद्धि हुनु पर्दछ । सोही अनुपातमा तौल पनि तेस्रो, चौथो र पाँचौ वर्षमा २–२ केजीका दरले थप हुँदै जानु पर्छ ।
वंशानुगत कारणले पनि बच्चा अग्लो–होचो हुनसक्छ
बुबाआमाको दुवैतर्फको ३ पुस्ताको औषत उचाइ के थियो भन्ने कुराले पनि बच्चाको उचाई मोटाई निर्धारण गर्छ । उनीहरुको कम उचाइ छ भने सन्तानमा पनि कम उचाइको हुनसक्छन् । त्यस्तै, बढी उचाईका छन् भने सन्तानका पनि बढी उचाई हुनेगर्छ । यसलाई अस्वस्थ्य भन्न मिल्दैन ।
यद्यपि गर्भदोष, उचित स्यहारसुसार नहुँदा, पोषण नपुग्दा कतिपय बच्चा अस्वभाविक होचो, दुब्लो हुनसक्छ । यसैले बच्चा होचो, दुब्लो, अग्लो, मोटो हुनुमा उनको पारिवारिक पृष्टभूमीलाई पनि केलाउनुपर्ने हुन्छ ।
गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ
स्वस्थ बच्चा हुनमा आमाको खानपानको पनि विशेष भूमिका हुन्छ । गर्भवती अवस्थामा खानपान र नियमित स्वास्थ्य जाँच गराएको छ भने सन्तान पनि स्वस्थ जन्मने गर्छ । आमामा हाइपोथाईराइड छ भने बच्चाको तौल बढी बढ्न सक्छ । त्यस्तै, आमाले गर्भमा शिशु रहँदा धुम्रपान र मद्यपान गर्ने बानी छ भने पनि जन्मिने शिशुको तौल र उचाइमा पछि असर पर्ने हुन्छ । त्यसबाहेक जन्मिदा कम तौलमा जन्मिएको छ भने पनि सन्तुलित भोजन गराएमा बच्चा सामान्य बच्चा जस्तै स्वस्थ हुनसक्छ ।
के कारणले बच्चाको उमेर अनुसार उचाइ र तौल असन्तुलित हुनसक्छ ?
बच्चामा पौष्टिक आहारको कमी, क्यालरी नपुगेमा, राम्ररी खानेकुरा नखाइदिएमा, संक्रमण भएमा, पाचनप्रणालीमा समस्याले पनि बच्चाको उमेर अनुसार उचाई र तौल असन्तुलित हुनसक्छ । त्यसबाहेक दीर्घरोग जस्तै मुटुमा प्वाल हुँदा पनि बच्चाको तौल नबढ्ने हुनसक्छ । उनीहरुमा पटक–पटक निमोनिया हुने मात्र नभई मुटुमा वाधा पर्ने गर्छ । पोषण चाहिने बेलामा अझ खान नसक्ने भएर तौल नबढ्ने हुनसक्छ ।
तौल र उचाइमा धेरै नै अन्तर आएमा बच्चामा समस्या पनि हुनसक्छ । जसको कारण पौष्टिक आहारको कमी हुनसक्छ । उमेर अनुसार तौल र उचाइ बढाउनका लागि बालबालिकाको डाइट चार्ट सबैभन्दा महत्त्वपूर्ण हुन्छ । राम्रो आहारविना बच्चाहरू बढ्न सक्दैनन् । बालबालिकाको उचाइ र तौल उनीहरुको खानामा भर पर्छ । बालबालिकालाई सुरुमा खानाको रुपमा मिनरल, प्रोटिन, भिटामिन, फाइबरयुक्त पौष्टिक तत्व खुवाइने हो भने शारीरिक विकाससँगै बालबालिकाको मानसिक विकास हुन्छ ।
डा। आरपी चौधरीको सहयोगमा