सोमबार ०८ पुस, २०८१

नेपाली समय

प्रभावकारी बन्दै बाल संरक्षणका संयन्त्र

प्रभावकारी बन्दै बाल संरक्षणका संयन्त्र

सरकारले विभिन्न निकायसँगको समन्वयमा बालबालिकाको संरक्षणका लागि सञ्चालनमा ल्याएको संयन्त्रहरु प्रभावकारी बन्दै गएको सम्वद्ध अधिकारीहरुले बताएका छन् । ती संयन्त्रले बालबालिका विरुद्ध हिंसा, दुर्व्यवहार भएमा वा जोखिम अवस्थामा उनीहरुलाई आपतकालीन उद्धार, राहत, अस्थायी संरक्षण तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापना लगायत सहयोग गर्ने गरेका छन् । बालबालिकाको क्षेत्रमा क्रियाशील निकायका प्रतिनिधिले बालबालिकाको हितका लागि अझ प्रभावकारी काम गर्न सुझाव दिएका छन् ।

हिंसा, दुर्व्यवहार वा जोखिमको अवस्थामा परेमा बालबालिकालाई आपतकालीन उद्धार, राहत, अस्थायी संरक्षण, मनोसामाजिक विमर्श, कानूनी परामर्श तथा सहयोग, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना लगायत अन्य आवश्यक सहयोग गर्न संयन्त्रहरु परिचालित छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषद्मार्फत सञ्चालन अनुमति प्राप्त गैरसरकारी संस्थाको सहयोगमा १८ जिल्लामा बाल हेल्पलाइन सञ्चालन गरेको छ । यस्तै, सडक बालबालिका उद्धार सेवा, बालसंरक्षण आर्थिक राहत, वैकल्पिक हेरचाह सेवा, बालबालिका खोजतलास सेवा, अस्थायी संरक्षण सेवा लगायत संयन्त्र प्रयोगमा छन् । ती संयन्त्र मार्फत् बालबालिकाको अधिकार तथा हक, हितको संरक्षण र सम्वर्द्धनका लागि काम भइरहेको मन्त्रालयका उपसचिव एवम् बाल संरक्षण तथा विकास शाखाका प्रमुख कृष्ण थापा बताउँछन् ।

११ वटा गैरसरकारी संस्थासँग सरकारले समन्वय गरी १८ वटा स्थानमा बाल हेल्पलाइन सेवा संचालन गरेको छ । हेल्पलाइनमा भूकम्प, कोरोना महामारी, र विपद्का घटना भएको अवस्थामा बालबालिकाको समस्या सम्बन्धि वार्षिक १ लाख बढी गुनासा आउने गरेको जानकारहरु बताउँछन् । त्यस्तै, सामान्य अवस्थामा वार्षिक ५० देखि ६० हजारको हारहारीमा बालबालिकासँग सम्बन्धित गुनासोहरु आउने गरेको सम्वद्ध निकायहरुको भनाई छ । बाल हेल्पलाइन मार्फत आउने गुनासोलाई कानून परामर्श, तत्काल उद्धार, मनोपरार्श लगायत सहयोग गर्ने बालबालिकासँग सम्बन्धित कार्यरत संस्था सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधर बताउछन् ।

संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा बाल अधिकार संरक्षण र प्रवर्धनका विषयहरु सम्बोधनका लागि संस्थागत संयन्त्रको व्यवस्था गरिएको हो । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन २०७९ अनुसार देशभरका ७७ वटा जिल्लामा गरी २ सय ४० स्थानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र छ । यस्तै, ४३ जिल्लामा ४ सय १७ वटा बालगृह सञ्चालित छन् । सो गृहमा १० हजार ९ सय ५ बालबालिका संरक्षणमा रहेको प्रतिवेदनमा उल्लेख छ । परिषद्का अनुसार सडक बालबालिका १ हजार ९ सय ८८ जनालाई उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको छ । जसमध्ये ९ सय ६८ जनालाई परिवारमा पुनर्मिलन, १ हजार ३८ बालबालिका संस्थागत पुनःस्थापना गरिएको छ । तिनैमध्ये २ सय ८३ जनालाई सीपमूलक तालिम दिइएको छ । त्यस्तै, बालबालिका खोजतलास सेवामा उजुरी दर्ता भएका ४ हजार ६ सय ४६ बालबालिकामध्ये ४ हजार २ सय ६९ जना फेला परी परिवारमा पुनर्मिलन गराइएको छ । बाँकी ३ सय ७७ जना बालबालिकाको खोजी कार्य जारी रहेको परिषद्को तथ्यांकमा उल्लेख छ । बालबालिकालाई परेको समस्याका आधारमा सहयोग गर्न संयन्त्रहरुमा प्रभावकारी ढंगले कार्य भएको परिषद्का सूचना अधिकारी राम बहादुर चन्दको दाबी छ ।

विगतको तुलनामा संयन्त्रहरुले प्रभावकारी काम गरेपनि अझै पनि बाल संरक्षण संयन्त्र र सेवा संचालनका लागि आर्थिक, जनशक्ति र भौतिक संरचनाको अभाव भने हट्न सकेको छैन । त्यसका लागि राज्यका सबै निकायले थप बालबालिकाको हितमा सहयोग गर्न आवश्यक भएको सम्वद्ध अधिकारीहरुको भनाइ छ । स्थानीय तहदेखि नै बालबालबालिकाको विषयलाई प्रथामिकता दिनुपर्ने सिविन नेपालकी कार्यकारी निर्देशक तुलाधारको भनाइ छ ।

परिषद्का अनुसार पछिल्लो पटक बेवारिसे अवस्थामा फेला परेका २ सय ९७ जना बालबालिकामध्ये १ सय ७८ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ भने १ सय १५ बालबालिकालाई अस्थायी संरक्षण गरिएको छ । यस्तै, जोखिमपूर्ण कार्यमा संलग्न रहेका तथा सडकमा पुगेका ६९ बालबालिकाको उद्धार गरी संरक्षण गरिएको छ । परिषद्को प्रतिवेदन अनुसार २०७९ मा बाल हेल्पलाइन सेवा मार्फत जोखिमपूर्ण अवस्थामा परेका ६ सय ८५ बालबालिकाको उद्धार गरिएको छ । त्यस्तै, सीमानाका लगायत भारतको विभिन्न स्थानबाट ८६ बालबालिकालाई उद्धार गरी पारिवारिक पुनर्मिलन गरिएको छ ।